अमेरिकी टेनिस स्टार भेनस विलियम्सको एकल खेलमा लगातार हारको शृंखला १३ खेलसम्म पुगेको छ।
सात पटककी ग्रान्डस्लाम विजेता भेनस सिनसिनाटी ओपनको पहिलो चरणमै कोलम्बियाकी एमिलियाना अराङ्गोसँग सोझो सेटमा पराजित भएकी हुन्। ४६ वर्षीया भेनसलाई शुक्रबार भएको खेलमा २५ वर्षीया अराङ्गोले ६–२, ६–२ ले हराइन्। वाइल्ड कार्डमार्फत प्रतियोगितामा प्रवेश पाएकी भेनसले पछिल्लो पटक २०२५ जुलाईमा एकल खेल जितेकी थिइन्।
विश्व वरीयतामा ९५औँ स्थानमा रहेकी क्वालिफायर अराङ्गोले लिण्डनर फेमिली टेनिस सेन्टरको ग्रान्डस्ट्यान्ड कोर्टमा भेनसलाई हराउन १ घण्टा ५ मिनेट लगाइन्। खेलको पहिलो गेममै भेनसको सर्भिस ब्रेक गरेकी अराङ्गोले त्यसपछि खेलमा आफ्नो पकड बलियो बनाइन्। उनले प्राप्त गरेका पाँच ब्रेक प्वाइन्टमध्ये चारलाई जितमा परिणत गरिन् भने पहिलो सर्भिसबाट ७१ प्रतिशत अंक जितिन्। भेनसले पाएको एक मात्र ब्रेक अवसर पनि सदुपयोग गर्न सकिनन्। उनको पहिलो सर्भिसबाट अंक जित्ने दर भने ४१ प्रतिशत मात्रै रह्यो।
अराङ्गोले अब दोस्रो चरणमा सातौँ वरीयताकी तथा साविककी सिनसिनाटी च्याम्पियन इगा स्वियाटेकको सामना गर्नेछिन्। भेनसको पछिल्लो एकल जित भने गत वर्ष वासिङ्टनमा पेयटन स्टियर्न्सविरुद्ध आएको थियो। एकलबाट बाहिरिए पनि भेनस सिनसिनाटीमै रहनेछिन्। उनले आफ्नी बहिनी सेरेना विलियम्ससँग महिला डबल्स खेल्नेछिन्। दुवै दिदीबहिनीले वाइल्ड कार्डमार्फत प्रवेश पाएका छन्। भेनस र सेरेनाले अन्तिम पटक सन् २०२२ को यूएस ओपनमा सँगै डबल्स खेलेका थिए। यसपटक उनीहरूले पहिलो चरणमा मार्टा कोस्ट्युक र पेयटन स्टियर्न्सको सामना गर्नेछन्। डबल्स प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।
प्रकाशित: ३० श्रावण २०८३ ०८:३० शनिबार





