२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड, एकै सिजनमा प्रहार गरे ६१ छक्का

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को इलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

सनराइजर्स हैदरावादविरुद्धको खेलमा छक्का प्रहार गर्दै उनले एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडेका हुन्।

वेस्टइन्डिजका लेजेन्ड ब्याटर गेलले सन् २०१२ को सिजनमा ५९ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए। सूर्यवंशीले यस सिजन आफ्नो छक्काको संख्या ६१ पुर्‍याउँदै उक्त रेकर्डलाई पछि पारेका छन्।

मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको राजस्थानले पावरप्लेमा सानदार प्रदर्शन गरेको छ। ६.१ ओभरको समाप्तिमा राजस्थानले बिना कुनै क्षति ८१ रन जोडेको छ।

क्रिजमा वैभव सूर्यवंशी र यशस्वी जैसवालको जोडी जमेको छ। सूर्यवंशीले मात्र २१ बलमा ६१ रन बनाउँदै आफ्नो अर्धशतक पूरा गरिसकेका छन्।

उनले आफ्नो इनिङ्समा ८ वटा छक्का र २ वटा चौका प्रहार गरेका छन्। उनको स्ट्राइक रेट २९०.४७ रहेको छ।

अर्का ओपनर जैसवालले १६ बलमा ३ चौकासहित १९ रन जोडेर उनलाई साथ दिइरहेका छन्।

आजको यो ‘डु अर डाई’ खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। जित हासिल गर्ने टोलीले भने फाइनल प्रवेशका लागि आगामी मे २९ मा गुजरात टाइटन्ससँग ‘क्वालिफायर–२’ खेल्ने मौका पाउनेछ।

हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ रोजे पनि राजस्थानका ब्याटरहरूले सुरुवाती ओभरदेखि नै आक्रामक ब्याटिङ गर्दै हैदरावादलाई दबाबमा राखेका छन्।

प्रकाशित: १३ जेष्ठ २०८३ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App