पुरुषतर्फ शीर्ष वरीयाताका जानिक सिनर र महिलातर्फ दोस्रो वरीयाताकी इगा स्वातेक युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार बिहान भएको खेलमा काजकिस्तानका अलेक्जेन्डर बुब्लिकलाई सोझो सेटमा पराजित गर्दै इटलीका सिनरले अन्तिम ८ मा स्थान पक्का गरेका हुन्। मात्र १ घण्टा २१ मिनेट चलेको खेलमा सिनरले तीनै सेट समान ६१ ले आफ्नो पक्षमा पारे।
पुरुष एकलतर्फका अन्य खेलमा अस्ट्रेलियाका एलेक्स डी मिनाउरले स्विट्जरल्यान्डका लिआन्द्रो रेडीलाई, क्यानाडाका फेलिक्स औगरले रुसका एन्ड्री रुब्लेभलाई र इटलीका लोरेन्जो मुसेट्टीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।
सेमिफाइनल प्रवेशका लागि सिनर र मुसेट्टी तथा औगर र मिनाउरबीच खेल हुनेछ।
महिला एकलतर्फ पोल्यान्डकी स्वातेकले रुसकी एकातेरिना अलेक्जान्द्रोभालाई ६-३ र ६-१ को सेटमा पराजित गरिन्। तेस्रो वरीयाताकी कोको गौफ भने पूर्वविश्व नम्बर एक जापानकी नाओमी ओसाकासँग ३-६ र २-६ को सेटमा पराजित भइन्।
अन्य खेलमा अमेरिकाकी अमान्दा आनिसिमोभाले ब्राजिलकी बेट्रिज हाद्दाद माइयालाई र चेक रिपब्लिककी कारोलिना मुचोभाले युक्रेनकी मार्ता कोस्तियुकलाई पाखा लगाउँदै अन्तिम ८ को यात्रा तय गरे।
क्वार्टरफाइनलमा स्वातेक र आनिसिमोभा तथा ओसाका र मुचोभाबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: १७ भाद्र २०८२ १४:०६ मंगलबार





