चार पटक विश्व च्याम्पियन जर्मनीले विश्वकप छनोटको खेलमा १० खेलाडीमा सीमित लक्जम्बर्गमाथि सहजै जित निकालेको दिन किलियन एमबाप्पेको फ्रान्सले पनि सफलता प्राप्त गरेको छ।
कप्तान जोसुआ किमिचको दुई गोलमा जर्मनीले शुक्रबार लक्जम्बर्गलाई ४–० ले हराउँदै गोलअन्तरको आधारमा समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। जर्मनीले स्लोभाकिया र नर्दन आयरल्यान्डलाई गोलअन्तरमा पछि पारेको हो तर स्लोभाकिया र आयरल्यान्डले सोमबार खेल्न बाँकी छ। फ्रान्सले भने अजरबैजानमाथि ३–० को जित निकाल्दा एमबाप्पे चोटका कारण बीचमा नै मैदानबाट बाहिरिनु परेको थियो।
शुक्रबार जर्मनीले सुखद नतिजासँगै विश्वकप छनोटमा दोस्रो जित निकालेको हो। तर, चार पल्ट विश्व च्याम्पियन जर्मनीको छनोट यात्राको सुरुआत भने सुखद थिएन। स्लोभाकियासँगको अवे खेलमा हारबाट जर्मनीले सुरुआत गर्नु परेको थियो। तर, घरेलु मैदानमा आयरल्यान्डमाथि जित निकाल्दै जर्मनी लयमा फर्कियो।
छनोटको तेस्रो खेलमा पनि जर्मनीले लय जारी राखेको छ। किमिचले पहिलो हाफमा पाएको पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन्। दोस्रो हाफमा पनि उनले अर्को गोल थपे। दोस्रो हाफको सुरुमै जर्मनीका लागि सेर्गी गनाब्रीको गोल गरेका थिए। त्यसले नै जर्मनीलाई सहज जिततर्फ अग्रसर गराएको हो।
जर्मनीका प्रशिक्षक युलियन नागल्समेनले आफ्नो टोलीले आक्रामक र उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसा गरेका थिए। ‘हामीले अझै १/२ गोल बढी गर्न सक्नु पर्दथ्यो। यो जित पनि हाम्रा लागि राम्रो नै छ। यही नतिजाको पर्खाइमा थियौं,’उनले भनेका छन्। जर्मनी यसअघि सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणबाट नै बाहिरिनु परेको थियो।
खेलको २०औं मिनेटमा नै डिर्क कार्लसन रातो कार्ड बेहोर्दै बाहिरिएपछि लक्जम्बर्गका लागि असहज बनेको हो। उनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रातो कार्ड सामना गरेका हुन्। २०औं मिनेटमा पाएको उक्त पेनाल्टीमा जेसुअले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। आयरल्यान्डले घरेलु मैदानमा स्लोभाकियामाथि २–० को जित निकाल्दै चौथो पल्ट विश्वकप खेल्ने सम्भावना जीवितै राखेको छ। विन्डसर पार्कमा भएको खेलमा स्लोभाकियाका स्ट्रेलिचको आत्मघाती गोलबाट आयरल्यान्डले अग्रता लियो। दोस्रो हाफमा पनि घरेलु टोलीले अर्को गोल थप्यो। ८१औं मिनेटमा स्टाइ हुमेले गोल गर्दै आयरल्यान्डलाई २–० को सहज जित दिलाए।
यससँगै आयरल्यान्डले सन् १९८६ पछि स्लोभाकियामाथि पहिलो जित रच्दै आफ्ना समर्थकलाई खुसी दियो। ‘आजको राता धेरै राम्रो भयो। तीन अंक प्राप्त गर्न खेलाडीले राम्रो प्रदर्शन गरे। हामी यो जितको हकदार पनि थियौं भन्ने लाग्छ,’सन्डरल्यान्डको डिफेन्डरसमेत रहेका हुमेले भने। यता, पार्क डेस प्रिन्समा फ्रान्सका कप्तान एमबाप्पेले आफ्नो उत्कृष्ट लय जारी राखेका छन्। उनकै गोलबाट फ्रान्सले पहिलो हाफमा अग्रता लिएको हो। तर, उनी चोटका कारण दोस्रो हाफमा बाहिरिनुपर्यो। ८३औं स्थानमा उनको स्थानमा फ्लोरियन थाउभिन मैदानमा प्रवेश गरेका थिए । त्यसअघि ६९औं मिनेटमा एड्रियन राबियोटले एमबाप्पेको पासमा गोल गरे।
एमबाप्पेको स्थानमा आएका फ्लोरिन पनि गोल गर्न सफल भए। उनले ८४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाउन मद्दत गरे। यो जितसँगै डिडियर डेसच्याम्पको टोली फ्रान्स अपराजित रहँदै समूह ‘डी’ को शीर्ष स्थानमा छ। सोमबार आइसल्यान्डमाथि फ्रान्सले जित निकाल्दा र युक्रेनले अजरबैजानमाथि जित निकाल्न असफल भएको खण्डमा डेसच्याम्पको टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ तर आयरल्यान्ड भ्रमणमा एमबाप्पे आराम गर्न सक्नेछ, जुन फ्रान्सका लागि सहज नहुन पनि सक्छ।
प्रकाशित: २६ आश्विन २०८२ ०६:४७ आइतबार





