१८ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

सदस्यसचिव चन्दका दुई महत्त्वपूर्ण निर्णय

दुई महत्त्वपूर्ण निर्णयसँगै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्यसचिव रवीन्द्र चन्दले मंगलबार पदभार ग्रहण गरेका छन्।

सुर्खेतस्थित कर्णाली रंगशालामा रहेको परिषद्को कार्यालयमा उनले औपचारिक रूपमा आफ्नो चार वर्षे कार्यकाल सुरु गरेका हुन्। पदभार सम्हालेकै दिन चन्दले दुई महत्त्वपूर्ण निर्णय गरेका छन्। चन्दले कर्णाली प्रदेश रंगशालाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक कार्यविधि तयार गर्ने पहिलो निर्णय गरे। साथै प्रदेशस्तरीय कर्णाली स्पोटर्स कार्निभल आयोजना गर्न परिषद्मा प्रस्ताव पेश गर्ने उनले निर्णय गरेका छन्।

रंगशाला परिसरभित्र केही संरचना निर्माणको अन्तिम चरणमा देखिएका छन्। भौतिक संरचना निर्माण सम्पन्न भएपछि त्यसको ब्रान्डिङ र मार्केटिङ गर्दै त्यहाँबाट आयआर्जन गर्ने माध्यम बनाउन आवश्यक रहेको चन्दले बताएका छन्। तब मात्र यी संरचना  संरक्षणका लागि आन्तरिक श्रोत जुटाउन सकिने उनको भनाइ छ।

पदभार ग्रहणपछि उनले रंगशालाको निरीक्षणसमेत गरेका थिए। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यालयमा चन्दलाई बधाई दिएका थिए। साथै नवनियुक्त सदस्यसचिव चन्दले प्रदेशका खेलाडी, प्रशिक्षक र कर्मचारीले भव्य स्वागत पनि गरेका थिए।

सो अवसरमा सदस्यसचिव चन्दले नवनियुक्त पाँच सदस्यमध्ये पवनकुमार थापा र पंखबहादुर मल्ललाई कार्यालयमा बधाई दिँदै सुमधुर सहकार्य गर्ने आशा व्यक्त गरे।  यसअघि सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले चन्दलाई नियुक्तिपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।  प्रदेश मन्त्रिपरिषद्को चैत १२ गतेको बैठकले उनलाई परिषद्को दोस्रो सदस्यसचिवका रूपमा नियुक्त गरेको हो।

करिब १५ महिनादेखि सदस्यसचिवसहित बोर्ड रिक्त रहेको परिषद्ले चन्दको नियुक्तिसँगै पूर्णता पाएको छ। उपाध्यक्षसहित पाँच सदस्यले पनि सोही अवसरमा नियुक्तिपत्र प्राप्त गर्दै शपथ लिएका थिए। चन्द क्रिकेट र फुटबलका राष्ट्रिय स्तरका खेलाडी हुन्। उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेका छन्।

खेलाडी जीवनबाट प्रशासनमा आएका चन्दले कर्णालीमा खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। सदस्यसचिव पदका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेकोमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गर्दै नियुक्ति पाएका हुन्। अन्य सिफारिसमा दीपक हमाल र प्रमोद हमाल रहेका थिए। लामो समयपछि परिषद्ले पूर्णता पाएसँगै अब कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार, पूर्वाधार निर्माण र प्रतियोगिता आयोजना तीव्र हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: १८ चैत्र २०८२ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App