अन्तर्राष्ट्रिय खेलका लागि परिचित नेपालको एक मात्र त्रिवि क्रिकेट मैदानले निकट भविष्यमा नै चोला फेर्दै छ। भौतिक संरचनादेखि मैदानको स्तरोन्नतिका लागि धमाधम काम हुँदै आएको यो मैदानको स्वरूपमा दशैँ अगाडि नै आमुल परिवर्तन आउने अपेक्षा छ। यो परिवर्तनका लागि खेलाडी मात्र होइन स्वयं दर्शकहरू पनि आतुर बनेका छन्।
मैदानको स्तरका कारण ठूला क्रिकेट राष्ट्रलाई आथित्यता प्रदान गर्न नसकिरहेको नेपाल क्रिकेट संघ (क्यान) दशैँ अगाडि नै सम्पूर्ण काम सम्पन्न गर्दै त्रिवि क्रिकेट मैदान ठूला क्रिकेट टोलीको खेल खेलाउन तयार छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य नजिक छ।
विगतका दिनमा यो मैदान छिर्ने जोकोही अहिलेको अवस्था देखेर एक पटक अवाक बन्छन्। त्यहीँ क्रिकेट मैदान हो यो, जुन बेला हामी भुइँमा बसेर क्रिकेट हेर्थ्यौ भन्ने प्रश्न आउनु अस्वाभाविक पनि होइन। तर अहिले चारैतिर आँखा डुलाउँदा विगतको भन्दा बिल्कुल फरक संरचना त्रिवि क्रिकेट मैदानमा बन्दै गरेको देख्न सकिन्छ। रुखमा चढेर क्रिकेट हेर्ने दर्शकका लागि प्याराफिट बन्दै छ। रातिको समयमा पनि क्रिकेट खेल्न रुचाउने खेलाडीका लागि फ्लड्लाइट जडानको काम भइरहेको छ। दुवै काम अन्तिम चरणमा पुगेको दाबी निर्माण पक्षको छ।

वर्तमान सरकारले प्राथकिमतामा राखेपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको कामले गति लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले तीन सय दिनभित्र त्रिवि मैदान निर्माणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। सोही अनुसार बजेट पनि निकासा भयो। आवश्यक प्रक्रिया पूरा गरेर ठेकेदार कम्पनीले गत फागुन अन्तिम साताबाट काम सुरु पनि गरे। तर, समयमा भने काम भएन। तोकिएको मितिमा वैशाख २४ गते काम नसकेपछि म्याद थपिएको थियो। थपिएको समय असार मसान्तभित्र काम सम्पन्न हुन नसकेपछि अहिले ठेकेदार कम्पनी दैनिक हर्जना तिर्दै प्याराफिट र फ्लड्लाइटको काम गरिरहेका छन्।

प्याराफिट तर्फको काम १० दिनभित्र सम्पन्न हुने
त्रिवि क्रिकेट मैदानको प्याराफिटको निर्माण बिकेओआई केसिडिसि बिजिको जोइनट भेन्चर कम्पनी (जेभी)ले गरिरहेको छ। कम्पनीका सञ्चालक प्रेम पौडेलले अबको १० दिनभित्र प्याराफिटतर्फको सम्पूर्ण काम सक्ने दाबी गरेका छन्।

उनले भने, ‘रेलिङ बनाउनेदेखि बाँकी सबै काम सकिएको छ। अब करिब १५ सयदेखि १८ सय कुर्सी राख्न मात्र बाँकी छ, त्यस्तै रेलिङको फिनिसिङको काम भइरहेको छ, अबको १० दिनभित्र प्याराफिटतर्फको सम्पूर्ण काम सकिन्छ।‘
करिब १० हजार दर्शक क्षमताको प्याराफिट बन्ने छ। ८ हजार २ सयवटा कुर्सी जडान भइसकेका छन्। दर्शक बस्ने कुर्सी सबै भारतबाट ल्याइएको हो।
पौडेलले भौगोलिक वातावरण र नक्सा परिमार्जनले काममा केही ढिला भएको स्वीकार गरे। ‘काम गर्दै जाँदै हामीले सोचेको जस्तो हुँदैन, केही समस्याका कारण म्याद थप गर्न पर्यो,’ जेभिका सञ्चालक पौडेले भने, ‘पछिल्लो समय वर्षाले गर्दा पनि काममा असर गरिरहेको छ। तर पनि समयसीमा भित्रै सक्ने गरी काम भइरहेका छ।‘
हर्जना तिर्नु भनेको ठेकेदारको क्षमतामा प्रश्न उठाउनु हो। जेभीले अहिले हर्जना तिरेर काम गरिरहेको छ। जेभीका सञ्चालक पौडेल भन्छन्, ‘सरकारले गरेको निर्णयलाई हामीले मान्न पर्छ, सरकारले भने अनुसार गर्नुपर्ने, तिर्नुपर्ने रह्यो भने हामी सरकारको आदेश मान्छौँ।‘

प्याराफिट ४३ करोड ७७ लाख सम्झौतामा निर्माण भइरहेको हो। समग्रमा प्याराफिटतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको दाबी निर्माण पक्षको छ।
एक महिनाभित्र फ्लड्लाइटको काम सक्ने लक्ष्य
नेपालमा रात्रिकालीन खेल खेलाउने लक्ष्यसहित अहिले त्रिवि मैदानमा फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ। यसको जिम्मा विशन ईश्वरी जेभीले पाएको छ। गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।
जेभिका प्रोजेक्ट म्यानेजर एवं इन्जिनियर सौरभ साहले भने, ‘अहिले वर्षाको मौसमले गर्दा हामीलाई फ्लड्लाइट जडानमा कठिनाइ भइरहेको छ तर हामीले यसलाई ध्यानमा राख्दै अबको एकमहिना भित्र फ्लड्लाइट जडान गर्ने लक्ष्य राखेका छौं। ‘
त्रिवि क्रिकेट मैदानमा ६ वटा फ्लड्लाइट जडान हुने छ। यसका लागि आवश्यक पर्ने पोल, प्यानल बक्स र जेनेटर ल्याइसकेको बताउँदै साहले बत्ती भने अबको एक साताभित्र आउने जानकारी दिए।

‘फ्लड्लाइटको लागि लाइट चाहिँ इटालीबाट आउने छ, लाइटको स्वीकृति अलि ढिलो भयो, जसले गर्दा यो कामहरूमा पनि ढिलो भइरहेको छ,’ साह भन्छन्, ‘अबको हप्तादश दिनभित्र लाइट यहाँ आइपुग्ने छ।‘
फ्लड्लाइट जडानका लागि ४२ करोड १९ लाख रुपैयाँमा सम्झौता भएको हो। फ्लड्लाइट जडानका लागि बाहिरबाट सुपरभाइरज तथा लाइटको टोली आउने छ। उनीहरूको सल्लाह अनुसार जडानको काम हुने छ।

फ्लड्लाइटको एउटा पोलमा ७० वटा बत्ती जडान हुने छ अर्थात् सबै पोलमा गरेर ४२० वटा बत्ति जडान हुने छन्। ‘हाम्रो अहिले यही बारेमा छलफल भइरहेको छ, फ्लड्लाइटको लागि कहाँ कसरी के गर्ने भनेर। यसको लम्बाइ, चौडाइको बारेमा छलफल गरिरहेका छौँ,‘ साहले भने।
फ्लड्लाइटबारे भने के कति खर्च लाग्छ भन्ने यकिन छैन। धेरै समानाहरू बाहिरबाट आउने भएकाले यसको हिसाब नभएको हो। सामानहरू बाहिरबाट झिकाउने काम भइरहेको छ। सबै सामान आएपछि मात्र भन्न सकिने साहको भनाइ छ।


प्रकाशित: ५ भाद्र २०८२ १३:२५ बिहीबार





