अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा लिग चरणका अन्तिम खेलहरु भइरहेका छन् । ११ टोली सहभागी सिरिजमा हरेकले ६ वटामात्र खेल खेल्ने तालिका छ । बिहीबारसमेत गरी एडिलेड स्ट्राइक्स एकेडेमीबाहेक बाँकी सबैले पाँच खेल खेलेका छन् ।
सुरुवाती तीन खेल गुमाएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित निकाल्दै सेमिफाइन प्रवेशको सम्भावना कायम राखेको छ। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार पाकिस्तान सहिन्ससँग खेल्नेछ । नेपाल चार अंकमा सातौं स्थानमा छ । नेपालभन्दा पछि बंगलादेश ए र एडिलेड छन् । बंगलादेश र मेलबर्न स्टार्स एकेडेमीबीच अहिले खेल भइरहेको छ । उनीहरुको समान ४ अंक छ । दशौं स्थानमा रहेको होबर्ट हुरिकेन्स एकेडेमीको २ अंक छ भने अस्ट्रेलियन क्यापिटल टेरिटोरीले पाँच खेलमा खातै खोल्न सकेको छैन ।
समान चार अंक भएपनि मेलबर्न स्टार्स एकेडेमी नेपालभन्दा एक स्थान माथि छैठौं स्थानमा छ । उसको दुई खेल बाँकी छ । पाँच खेलमा अपराजित सिकागो किङ्सम्यान १० अंकमा शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनलमा पुगेको छ ।
समान ६ अंक भएपनि रनरेटका आधारमा पाकिस्तान दोस्रो, पर्थ स्कोर्स एकेडेमी तेस्रो, नर्थन टेरिटोरी स्ट्राक चौथो र मेलबर्न रेनिगेट्स एकेडेमी पाँचौ स्थानमा छन्।
लिगको आफ्नो अन्तिम खेलमा तेस्रो स्थानको पर्थले चौथो स्थानको नर्दनसँग, पाँचौ स्थानको मेलबर्नले एडिलेडसँग र छैठौं स्थानको मेलबर्नले पुछारको अस्ट्रेलियन क्यापिटलसँग खेल्नेछन् । शीर्ष स्थानको सिकागोले भने होबर्टसँग खेल्ने तालिका छ ।
नेपालले सेमिफाइनल खेल्न शुक्रबार हुने पाकिस्तानसँगको खेलमा फराकिलो जित निकाल्नु पर्नेछ । यसका साथै पर्थ र नर्दनमध्ये एकको हार तथा मेलबर्न रेनिगेड्स, मेलबर्न स्टार्स र बंगलादेश ए ले पराजय भोग्नु पर्नेछ ।
नेपाल विजयी भए समान ६ अंक हुने टोलीभन्दा रनरेटमा पनि बलियो बन्नु पर्ने भएकाले सेमिफाइनलमा पुग्न नेपाललाई सुरुवाती तीन खेलमा भोगेको हार भारी पर्न सक्छ । अन्तिम खेलमा आफ्नो जितमात्र नभइ आफूभन्दा माथि रहेका अन्य टिमको फाराकिलो हार पनि नेपाललाई अन्तिम चारमा प्रवेश गराउने बाटो बन्नेछ ।
प्रकाशित: ५ भाद्र २०८२ १६:४९ बिहीबार





