२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

राज्यले खेलकुद क्षेत्रमा गर्नुपर्ने जति लगानी गर्न सकेको छैन: खेलकुदमन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राज्यले देशको खेलकुद क्षेत्रमा जति गर्नुपर्ने हो त्यति लगानी गर्न नसकेको बताएका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजना भएको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशले खेलकुदमा राम्रो गर्न नसकेको धारणा राखेका हुन् । यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदै छ । ‘राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । त्यसप्रति आत्मआलोचना गर्दछौं । उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैं प्रयत्नरत छ,’उनले भने ।  

खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली टोलीको बिदाइ गरेका हुन् । मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरेका छन् । खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उनको दाबी । नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्दै मन्त्री पोखरेलले टोलीको सुधारोन्मुख खेलले देशको शीर ठाडो पारेको धारणा राखे ।

‘खेलाडीहरूले मैदानमा देखाउनुभएको सुधार र मेहनत तारिफयोग्य छ । आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यसपटक हामी उपाधि जितेरै आउँछौं भन्नेमा पूर्ण विश्वस्त छु । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जित अवश्य सम्भव छ । देश च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न उपस्थित हुने प्रतिज्ञा गर्दछु,’मन्त्री पोखरेलले भने । टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित समिश्रण रहेको प्रति खुशी व्यक्त गर्दै मन्त्रीले सिनियर खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरेका छन् । साथै मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले खेल संघहरू सरकारसँग नै मिलेर अगाडि बढ्ने संघ रहेको र त्यसमा एन्फा पनि प्रतिबद्धका साथै इमानदार हुने बताएका छन् । साफमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा श्रीलंका र भुटान छन् । पछिल्ला सात संस्करणसम्म यी तीनै टोली विजेता बन्न सकेका छैनन् । नेपाल भने ६ संस्करणको उपविजेता टोली हो । नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेका छन् । यद्यपि, नेपाली टोली दक्षिण एसियाकै स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ र सबिता रानामगर जस्ता महŒवपूर्ण खेलाडी छैनन् । अर्का समूह ‘बी’ मा पाँच पल्टको च्याम्पियन भारत र दुई पल्ट च्याम्पियन बंगलादेशसहित माल्दिभ्स छन् ।

नेपाली टोलीले करिब एक महिनादेखि सातदोबाटोस्थित एन्फा कम्लेक्समा साफको तयारी गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । तीन गोलकिपरमा अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथ छन् । डिफेन्समा पूजा राना, गीता राना, विमला विक, हीराकुमारी भुजेल प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सबिना चौधरी छन् । मिडफिल्डमा रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल र अनिता केसी छन् । चार स्ट्राइकरमा रश्मि घिमिरे, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा छन् ।

प्रकाशित: ७ जेष्ठ २०८३ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App