३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

खुसी मनाउँदा निम्तिएको पीडा: जितको खुसियाली मनाउँदा चार जनाको मृत्यु

मेक्सिको सिटीमा विश्वकप फुटबलमा मेक्सिकोको ऐतिहासिक जितको खुसीयाली मनाउने क्रममा भएको अत्यधिक भीडका कारण १९ वर्षीया युवतीसहित चार जनाको मृत्यु भएको छ।

मंगलबार इक्वेडरमाथि मेक्सिकोको जितपछि सडकमा उत्रिएको विशाल भीडमा परेर १९ वर्षीया युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुषको निसास्सिएर मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। अर्का ३० वर्षीय पुरुषको भने छारे रोगका कारण ज्यान गएको सहरका अधिकारीहरूले बताएका छन्।

सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेपछि मेक्सिकोको खुसीयाली मनाउन १० लाखभन्दा बढी समर्थक सडकमा ओर्लिएका थिए। विशेषगरी सहरको प्रमुख स्थल ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक आसपास अत्यधिक भीडभाड भएको थियो।

घटनाप्रति दुःख व्यक्त गर्दै मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै समर्थकहरूलाई भविष्यमा जिम्मेवार, सतर्क र सहानुभूतिपूर्वक उत्सव मनाउन आग्रह गरेकी छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार भीडभाड भएका विभिन्न स्थानबाट तीनजनालाई बेहोस अवस्थामा उद्धार गरी तत्काल प्राथमिक उपचार र सिपिआरपछि अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतकहरूको पहिचान परिवारले गरिसकेको जनाइएको छ।

मेक्सिकोको जितपछि रंगशालादेखि सहरका विभिन्न स्थानमा लामो समयसम्म आतसबाजी र उत्सव मनाइएको थियो। अत्यधिक भीड हुने पूर्वानुमान गर्दै मेयर ब्रुगाडाले खेलअघि नै समर्थकहरूलाई ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक क्षेत्रमा नजान आग्रह गरेकी थिइन्। करिब २ करोडभन्दा बढी जनसंख्या रहेको मेक्सिको सिटी संसारका सबैभन्दा धेरै जनघनत्व भएका सहरमध्ये एक मानिन्छ।

यस जितसँगै मेक्सिको विश्वकपको ‘राउन्ड अफ १६’ मा प्रवेश गरेको छ। अब उसले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्याण्डले बुधबार डिआर कंगोलाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

 

प्रकाशित: १८ असार २०८३ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App