नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केवल सत्ता प्राप्त गर्ने वा पार्टीभित्रको चुनाव जित्ने माध्यम नभई विचार, त्याग र बलिदानको जगमा उभिएको पाटीए भएको बताएका छन्।
‘नयाँ पुस्तासँग गगन थापा’ तथा जननायक कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसभित्रको राजनीति केवल अधिवेशन र निर्वाचनमा सीमित हुन नहुने बताए।
उनले पार्टीभित्र नेताहरू अधिवेशनका बेला एकअर्कासँग प्रतिस्पर्धा गर्ने र त्यसपछि देशको निर्वाचनमा होमिने क्रमलाई स्वाभाविक मानिए पनि कांग्रेसको अस्तित्व त्यसमा मात्र सीमित नभएको बताए।
‘हामी सधैं पार्टीको अधिवेशनका लागि एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका हुन्छौँ। त्यसपछि देशको चुनाव आउँछ। तर नेपाली कांग्रेस हुनुको अर्थ पार्टीभित्रको चुनाव वा बाहिरको चुनाव मात्र होइन,’ उनले भने।
थापाले ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले गरेको संघर्ष सम्झिँदै त्यसबेला सत्ता वा पद प्राप्तिको उद्देश्य नभई लोकतन्त्र स्थापनाको आदर्शले आन्दोलन अघि बढेको भन्दै तत्कालीन नेताहरूलाई प्रेरित गर्ने शक्ति पद, सरकार वा व्यक्तिगत लाभ नभई लोकतान्त्रिक मूल्य र राष्ट्रिय जिम्मेवारी रहेको बताए।
देश दौडाहाको क्रममा हजारौँ परिवारसँग कुरा गरेको भन्दै उनीहरूको कांग्रेसप्रतिको निष्ठा कुनै पद, शक्ति, सम्पत्ति वा व्यक्तिगत स्वार्थसँग जोडिएको नभई लोकतान्त्रिक आस्था र बलिदानसँग जोडिएको बताए।
‘देशभर घुम्दा यस्ता धेरै परिवार भेटिन्छन्, जसले आफ्नो सिंगो परिवार कांग्रेसका लागि समर्पित गरेका छन्। त्यो कुनै पदका लागि होइन, कुनै आर्जनका लागि होइन, सत्ता वा शक्तिका लागि पनि होइन,’ थापाले भने।
प्रकाशित: ३ श्रावण २०८३ १०:५० आइतबार





