१४ आश्विन २०८३ बुधबार
image/svg+xml
खेल

सिटीका सीईओको दाबी-आरोपविरुद्ध लडाइँ अझै लामो छ

म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबमाथि लागेको प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध कानुनी लडाइँ जारी रहने बताएका छन्।

युरोपियन फुटबल क्लब्सको बोर्ड बैठकमा सहभागी हुँदै सोरियानोले सिटीमाथिको प्रक्रिया अझै लामो समय चल्ने बताएका छन्। डेनमार्कको कोपेनहेगनमा भएको बैठकमा उनले क्लबले आरोपविरुद्ध लडिरहने धारणा राखेका थिए।

प्रेस एसोसिएसनका अनुसार सोरियानोले सिटीमाथिको प्रिमियर लिगको अनुसन्धान सुरु भएको आठ वर्ष भइसकेको उल्लेख गर्दै प्रक्रिया अझै लामो समय चल्ने बताएका थिए। उनले बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ भने दिएनन्।

प्रिमियर लिगले सिटीमाथि आर्थिक नियमसँग सम्बन्धित ११५ वटा आरोप लगाएको थियो। तीमध्ये अधिकांश आरोपमा क्लब दोषी ठहर भएको शुक्रबार सार्वजनिक भएको थियो। क्लबमाथि सम्बन्धित कम्पनीबाट प्राप्त प्रायोजन रकम बढाएर देखाएको तथा आर्थिक नियम छल्न अन्य भुक्तानी गरेको आरोप लगाइएको थियो।

दोषी ठहर भए पनि सिटीमाथि हुने कारबाही भने घोषणा भएको छैन। सम्भावित कारबाहीमा अंक कटौती, प्रिमियर लिगबाट निष्कासन वा ठूलो जरिवानासम्म हुन सक्ने बताइएको छ। प्रिमियर लिगका अन्य क्लबले समेत क्षतिपूर्तिका विषयमा कानुनी परामर्श लिन थालेका छन्।

सिटीले उक्त निर्णयविरुद्ध अपिल गर्ने तयारी गरेको छ। क्लबले पनि प्रिमियर लिगको प्रक्रिया अझै जारी रहेको र महत्वपूर्ण विषयहरू टुंगिन बाँकी रहेको जनाएको छ।

सिटीका अध्यक्ष खाल्दुन अल मुबारकले यसअघि समर्थकलाई पत्र लेख्दै क्लब आफ्नो निर्दोषिता प्रमाणित गर्न विश्वस्त रहेको बताएका थिए। उनले कानुनी प्रक्रियामा रहेको गोपनीयताका कारण आफूहरूले आफ्नो पक्षमा रहेका धेरै विषय सार्वजनिक गर्न नसकेको उल्लेख गरेका थिए।

सिटीमाथिको प्रिमियर लिगको अनुसन्धान सन् २०१८ मा सुरु भएको थियो। आठ वर्षपछि आरोपहरूको ठूलो हिस्सामा क्लब दोषी ठहर भए पनि अन्तिम कारबाही र त्यसविरुद्धको अपिल प्रक्रिया अझै बाँकी छ।

प्रकाशित: १३ आश्विन २०८३ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App