वेस्ट इन्डिज अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङ्समा मंगलबार मात्र २७ रनमा अलआउट भयो। यो टेस्ट इतिहासकै अहिलेसम्मकै सर्वाधिक दोस्रो कम योगफल हो। संयोग के छ भने वेस्ट इन्डिजले बनाएको सबैभन्दा कम तीन योगफल घरेलु मैदानमा छ।
तेस्रो टेस्टमा मात्र २०४ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली १४.३ ओभरमा मात्र २७ रनमा समेटिएको थियो। टेस्ट इतिहासमा यो वेस्ट इन्डिजको अहिलेसम्मकै सर्वाधिक कम योगफल पनि हो। यो खेल अस्ट्रेलियाले १७६ रनले जितेको हो। योसँगै अस्ट्रेलियाले तीन खेलको सिरिज क्लिनस्विप गरेको छ।
यसअघि क्यारेबियन टोली सन् २००४ मार्च ११ मा इंल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा मात्र २५.३ ओभरमा ४७ रनमा अलआउट भएको थियो।
जमैकाको किङ्सटनमा भएको उक्त खेलमा मात्र २० रनको लक्ष्य इंल्यान्डले बिना क्षति पूरा गरेको थियो। संयोग के छ भने, गएराति फेरि क्यारेबियन टोली सोही किङ्सटनमा नै २७ रनमा अलआउट भएको हो।
वेस्ट इन्डिज टोबागोको पोर्ट अर्फ स्पेनमा पनि मात्र ५१ रनमा अलआउट भएको थियो। यो उसको सर्वाधिक तेस्रो कम योगफल हो। सन् १९९९ को मार्च ८ मा ३६४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र ५१ रनमा समेटिएको थियो।
सर्वाधिक कम योगफल भने इंग्लान्डविरुद्ध न्युजिल्यान्डले सन् १९५५ मार्च २५ मा अक्लान्डमा बनाएको थियो। सिरिजको दोस्रो टेस्टको दोस्रो इनिङ्समा न्युजिल्यान्डमात्र २६ रनमा अलआउट भएपछि भ्रमणकारी टोली इंल्यान्डले एक इनिङ्स र २० रनले खेल जितेको थियो।
साउथ अफ्रिका, अस्ट्रेलिया, भारत, आयरल्यान्ड, श्रीलंका, बंगलादेश पनि बारम्बार कम योगफलमा अलआउट भएका थिए।
प्रकाशित: ३१ असार २०८२ १३:०७ मंगलबार


-600x400.jpg)


