तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन्। पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ।
यो साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो। त्यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा पुगेको हो।
भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब भिड्नेछन्। सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराएर अन्तिम चारमा प्रवेश गरेको थियो। झापाले पोखराको सहारा क्लबलाई २–१ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
आठ टोली सहभागी भएको प्रतियोगिताको फाइनल खेल यो साउन ३१ गते हुनेछ। विजेताले नगद रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ र प्रमाणपत्र पाउनेछन्। लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो।
प्रकाशित: २८ श्रावण २०८२ ११:४० बुधबार


-600x400.jpg)


