२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो ताप्लेजुङ गोल्डकपको तालिका

तेल्लोकले इटहरीसँग उद्घाटन खेल खेल्ने

साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा गृह टिम तेल्लोक स्पोर्टिङ क्लबले उद्घाटन खेलमा द योङ ब्रर्दश क्लब इटहरी प्रतिश्पर्धी पाएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिले ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा पुगेर बिहीबार अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार पहिलो खेलमा तेल्लोक स्पोर्टिङ क्लबले सुनसरीको द योङ ब्रर्दश क्लब इटहरीसँग भिडन्त गर्ने छ। यस पटक आयोजकको प्रतिनिधित्व तेल्लोक स्पोर्टिङ क्लबले गरेको छ। जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङखिमको विशेष उपस्थिति तथा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र पूर्व अध्यक्ष देवराज गुरुङसहितका पदाधिकारी तथा सदस्यको उपस्थितिमा लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले खेल तालिका सार्वजनिक गरेका छन्।

शेर्पाका अनुसार साउन २५ गते हुने पहिलो चरणको दोस्रो खेलमा साहारा क्लब पोखराले रेड स्टार फुटबल क्लब झापासँग प्रतिश्पर्धा गर्ने छ। यस्तै पहिलो चरणको तेस्रो खेलमा साउन २६ गते भारत सिलगुढीको लेजण्ड फुटबल एकेडेमीको भिडन्त चर्च ब्वाइज फुटबल क्लब काठमाडौंसँग हुने छ।

पहिलो चरणको अन्तिम खेलमा साउन २७ गते मधेसको सशक्त टिम सलहेश युवा क्लबले पूर्वी पहाडको पाँचथरस्थित फिदिम स्पोर्टिङ क्लबसँग प्रतिश्पर्धा गर्ने शेर्पाले जानकारी दिए। प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन्।

पहिलो चरणको खेल समाप्त भएपछि २८ र २९ गते सेमिफाइनलमा खेल हुने भएका छन्। ३० गते एक दिन खेल नखेलाई उक्त दिन साँस्कृतिक कार्यक्रमसहितका मनोरञ्जनात्मक कार्यक्रम गरेर साउन ३१ गते फाइनल खेल हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेनले जानकारी दिए।

प्रकाशित: १५ श्रावण २०८२ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App