चर्च ब्वाईज फुटबल क्लबले ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
दश खेलाडीमा सीमित भारत सिलगुढीको लिजेण्ड फुटबल एकेडेमीलाई क्वाटर फाइनलमै रोक्दै चर्च ब्वाइजले सेमिफाइनल पुग्ने तेस्रो टोलीको रुपमा आफ्नो नाम लेखाएको हो ।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको एक मात्र अन्तर्राष्ट्रिय टिम लिजेण्ड फुटबल एकेडेमी चर्च ब्वाइज क्लबसँग १–० गोल अन्तरले स्तब्ध भयो । खेलको सुरुवाती १०औं मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मनिषको उक्त गोल नै चर्च ब्वाइजलाई जीत दिलाउन पर्याप्त बन्यो । भारत सिलगुढीका खेलाडी प्रितम वैद्य पहिलो हाफमै रेड कार्ड प्राप्त गरी खेलबाट बाहिरिएपछि लिजेण्ड फुटबल एकेडेमी १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गरेको छ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । मंगलवार हुने अन्तिम क्वाटर फाइनलको सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथर आमनेसामने हुँदै छन् ।
प्रकाशित: २६ श्रावण २०८२ १८:१७ सोमबार





