आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सोमबार भएको समूह ‘बी’ को खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
ओमानले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य जिम्बाब्वेले १३.३ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो।
कोलम्बो (एसएससी) मैदानमा भएको खेलमा जिम्बाब्वेको जितमा ब्रायन बेनेटले उत्कृष्ट ब्याटिङ गरे। उनले ३६ बलको सामना गर्दै ७ चौकाको मद्दतमा अविजित ४८ रन बनाए।
त्यस्तै, ब्रेन्डन टेलरले ३१ रन र तादिवानासे मारुमनीले २१ रनको योगदान दिए। ओमानका बलर सुफियान महमुदले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानको टोली जिम्बाब्वेको कसिलो बलिङसामु खुलेर खेल्न सकेन र १९.५ ओभरमा १०३ रनमै अलआउट भयो।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक २८ रन बनाए भने सुफियान महमुदले २५ र नदिम खानले २० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानलाई सस्तोमा समेट्न जिम्बाब्वेका बलरहरू रिचर्ड नगारभा, ब्लेसिङ मुजाराबानी र ब्राड इभान्सले घातक बलिङ गरे। तीनै जनाले समान ३-३ विकेट हात पारे। सिकन्दर राजाले १ विकेट लिए।
यो जितसँगै जिम्बाब्वेले समूह ‘बी’ मा २ अंक जोडेको छ।
प्रकाशित: २६ माघ २०८२ १८:२८ सोमबार





