आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा पुग्ने सबै ८ टिमको टुंगो लागेको छ ।
बुधबार भएको खेलमा नामिबियालाई पराजित गर्दै पाकिस्तानले सुपर-८ मा स्थान बनाएसँगै समीकरण पूरा भएको हो । पाकिस्तानसँगै समूह ए बाट भारतले सुपर-८ मा स्थान बनाएको छ । भारतले आफ्नो अन्तिम खेलमा अहिले नेदरल्यान्ड्ससँग खेल्दैछ । सो खेलपछि तीन खेलबाट ६ अंक जोडेको भारत समूह विजेता बन्ने नबन्ने टुंगो लाग्नेछ ।
समूह बीबाट श्रीलंका र जिम्बाबेले सुपर-८ मा स्थान पक्का गरे । एकापसमा खेल्न बाँकी रहेका यी दुईमध्ये श्रीलंकाको ६ र जिम्बाबेको ५ अंक छ । यो समूहमा अस्ट्रेलिया समूह चरणमै रोकियो । श्रीलंका र जिम्बाबेसँग पराजित भएको अस्ट्रेलियाले आयरल्यान्डलाई भने हराएको थियो । उसले ओमानसँग खेल्न बाँकी छ । यद्यपि मात्र २ अंक भएको अस्ट्रेलियाले ओमानविरुद्ध जित निकाले पनि जिम्बाबेभन्दा एक अंकले पछि पर्नेछ । ओमान अंकविहीन छ ।
समूह सीबाट वेस्ट इन्डिज र इंल्यान्डले सुपर-८ मा स्थान पक्का गरे । तीनै खेलमा जित निकालेको वेस्ट इन्डिजले इटलीसँग खेल्न बाँकी छ । यहीँ समूहबाट चार खेलमा ६ अंक जोड्दै इंल्यान्डले पनि अघिल्लो चरणमा स्थान बनायो । स्कटल्यान्ड, नेपाल र इटली भने समूह चरणमै रोकिए । नेपाल र स्कटल्यान्डले समान २ अंक जोडे । २ अंक नै भएको इटलीले वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । नेपालले यो विश्वकपमा स्कटल्यान्डलाई हराउँदै जितको खडेरी तोड्यो । नेपालले विश्वकपमा १२ वर्षपछि पहिलो जित निकाल्यो ।
समूह डीबाट साउथ अफ्रिका र न्युजिल्यान्डले सुपर-८ मा स्थान बनाए । चारै खेल जित्दै साउथ अफ्रिका ८ अंकसहित शीर्ष र तीन खेलमा जित निकाल्दै न्युजिल्यान्ड ६ अंकसहित दोस्रो स्थानमा रहेर सुपर एटमा प्रवेश गरेका हुन् । यो समूहबाट अफगानिस्तान, यूएई र क्यानाडा बाहिरिए । समूह चरणको आफ्नो अन्तिम खेल क्यानाडासँग बाँकी रहँदा अफगानिस्तानको २ अंक छ । यूएईले पनि एक खेल जित्यो । क्यानाडाले भने तीन खेलमा अंक जोड्न सकेको छैन ।
सुपर-८ का खेलहरु शनिबारदेखि सुरु हुनेछन् । पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।
प्रकाशित: ६ फाल्गुन २०८२ १९:०८ बुधबार





