पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसैन अन्द्राबीले बताएका छन् कि भारतविरुद्ध खेल्न अस्वीकार गर्ने प्रारम्भिक निर्णय खेललाई राजनीतिक हतियार बन्न नदिनका लागि गरिएको थियो।
बीबीसी उर्दूका अनुसार, बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘क्रिकेटमा राजनीति घुसाउनु वा त्यसलाई हतियारका रूपमा प्रयोग गर्नु दुःखद छ। भारतले बंगलादेशविरुद्ध क्रिकेटलाई हतियार बनाउने प्रयास गरिरहेको छ। हाम्रो निर्णय थियो कि हामी क्रिकेटमा राजनीति आउन दिने छैनौँ।’
यसअघि पाकिस्तानले यस महिनाको सुरुवातमै बंगलादेशको समर्थन गर्दै फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारतसँगको टी–२० विश्वकप खेल नखेल्ने घोषणा गरेको थियो। पाकिस्तानको तर्क थियो कि भारतमा खेल्ने विषयमा बंगलादेशले व्यक्त गरेका सुरक्षा चिन्तालाई बेवास्ता गर्दै उसलाई प्रतियोगिताबाट बाहिर राख्नु अनुचित थियो।
तर फेब्रुअरी ८ मा लाहोरमा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम र पाकिस्तान क्रिकेट बोर्डका अधिकारीहरूबीच बैठक भएपछि पाकिस्तानले आफ्नो निर्णय परिवर्तन ग¥यो र भारतविरुद्ध खेल्न सहमति जनायो।
पाकिस्तानले दाबी गरेको छ कि आईसीसीले बंगलादेश क्रिकेटसँग भएको अन्याय सच्याउने आश्वासन दिएपछि मात्र भारतसँगको खेल खेल्ने निर्णय लिइएको हो। एजेन्सी
प्रकाशित: १ फाल्गुन २०८२ ०६:५९ शुक्रबार





