पाकिस्तान आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा प्रवेश गरेको छ।
समूह 'ए' को खेलमा बुधबार नामिबियालाई १०२ रनको फराकिलो अन्तरमा पराजित गर्दै पाकिस्तानले पनि सुपर-८ मा स्थान पक्का गरेको हो । ४ खेलबाट पाकिस्तानको ६ अंक भएको छ। सो समूहबाट यसअघि नै ६ अंकसहित भारत सुपर ८ मा प्रवेश गरिसकेको छ। भारतले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार नै नेदरल्यान्ड्ससँग खेल्नेछ ।
समूह ए बाट ४ अंक भएको अमेरिका र २ अंक (अन्तिम खेल बाँकी) भएको नेदरल्यान्ड्स बाहिरिसकेका छन् । नामिबिया भने अंकविहीन हुँदै समूह चरणमै रोकियो ।
श्रीलंकाको कोलम्बोमा पाकिस्तानले दिएको २०० रनको उच्च लक्ष्य पछ्याएको नामिबिया १७.३ ओभरमा ९७ रनमा अलआउट भयो । ९ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पबेलियन फर्केको नामिबियाको इनिङ्समा लौरेन स्टिनकाम्पले २३ र अलेक्जेन्डर बुसिङले २० रन बनाए ।
नामिबियालाई सस्तैमा समेट्न उस्मान तारिकले ४ र सहाब खानले ३ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले सहिबजादा फरहानको सतकको मद्दतमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । मात्र ५८ बलको सामना गरेका फरहानले ११ चौका र चार छक्कको मद्दतमा नटआउट सय रन बनाए । कप्तान सलमान आघाले ३८ रन बनाए ।
ज्याक ब्रासेलले नामिबियाका लागि २ विकेट लिए पनि अंकविहीन हुनबाट बचाउन भने सकेनन् ।
प्रकाशित: ६ फाल्गुन २०८२ १८:४६ बुधबार





