उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न ‘प्रथम त्रियुगा नगर उपप्रमुख उदयपुर एक्ससिओ रेस–०२५’ को उपाधि सुनसरीका सागर तामाङले जितेका छन्।
साइक्लिङ संघ उदयपुरले आयोजना गरेको ‘जी पुस्ता’ लक्षित प्रतियोगितामा तामाङले २० प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्।
प्रतियोगिताको उपाधिसँगै तामाङले नगद ११ हजार १११ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरे। त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले विजेता तामाङलाई पुरस्कार हस्तान्तरण गरिन्।
प्रतियोगितामा सुनसरीकै सेम्माङ लिम्बु द्वितीय र उदयपुरका कुशाङ शेर्पा तृतीय भए। उनीहरूले क्रमशः ७ हजार ५५५ र ५ हजार ५५५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, उदयपुरका मिलन परियार चौथो र अमर मग्राती पाँचौँ भए भने झापाका बादल लिम्बु छैटौँ, उदयपुरका दीपक रजक सातौँ तथा हेटौँडाका अमर दास आठौँ स्थानमा रहे। उनीहरूलाई पनि नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै उपप्रमुख राईले यस्ता खेलकुद गतिविधिले युवा पुस्तालाई सिर्जनशील बनाउने र उनीहरूलाई ध्वंसभन्दा रचनात्मक कार्यमा लाग्न प्रेरित गर्ने बताइन्।
उनले भनिन्, ‘युवा लक्षित कार्यक्रमका लागि नगरपालिकाले बजेट व्यवस्था गर्दै आएको छ। स्थानीय सरकार समाजमा दिगो र प्रभावकारी काम गर्न लागिरहेको छ, रचनात्मक प्रस्ताव लिएर आउनुहोस्।’
‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत आयोजित प्रतियोगितामा उदयपुरसहित विभिन्न जिल्लाका १८ वर्षमुनिका युवाहरूले सहभागिता जनाएका थिए।
त्रियुगा नगरपालिका–११ स्थित चप्पन सामुदायिक वनको खेल मैदानबाट सुरु भएको रेस १५ किलोमिटर दूरीको थियो।
आयोजक साइक्लिङ संघ उदयपुरका अध्यक्ष माधव बानियाँले जिल्लामा साइक्लिङ खेलको प्रवर्द्धनका लागि निरन्तर यस्ता प्रतियोगिताहरू आयोजना गर्दै जाने बताए। संघले यसअघि ‘कोरा साइक्लिङ’ जस्ता सफल प्रतियोगिताहरू आयोजना गरिसकेको छ।
प्रकाशित: २५ आश्विन २०८२ १७:०४ शनिबार





