१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एनपिएलमा सुदूरपश्चिम रोयल्सका १४ खेल: १२ जित, हार दुई मात्रै

नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा हालसम्म सुदूरपश्चिम रोयल्स एक मात्र अपराजित टिम छ। उसले दोस्रो सिजन अन्तर्गत खेलेका पाँच खेलमा पाँचै खेल जितेर अङ्क तालिकामा वर्चश्व कायम गरेर बसेको छ।

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेसँगै सुदूरपश्चिम रोयल्सले आफ्नो ‘प्लेअफ यात्रा’ सुरक्षित पनि गरेको छ।

लिगमा हरेक टोलीले ७ वटा खेल खेल्नुपर्छ। ७ मध्ये पाँच जितिसकेकाले सुदूरपश्चिमले अब प्लेअफसँगै पहिलो ‘क्वालिफायर’ का लागि पनि बलियो दाबेदारी प्रस्तुत गरेको छ।

लिगको अन्तिम अङ्क तालिकामा पहिलो र दोस्रो हुने टोली पहिलो क्वालिफायर भिड्छन्।

जहाँबाट जित्ने टोली सिधै फाइनलमा पुग्छ भने हार्ने टोलीलाई थप एक मौका हुन्छ। उसले तेस्रो र चौथो हुने टोलीबिच हुने ‘एलिमिनेटर’ खेलबाट जित्नेसँग दोस्रो ‘क्वालिफायर’ खेल्ने मौका पाउँछ। त्यसमा जित निकाल्न सके फाइलनमा पुग्ने अर्को मौका उसका लागि रहन्छ।

सुदूरपश्चिम रोयल्सले यस्तो यात्रा जारी सिजनमा मात्र होइन। एनपिएलको पहिलो सिजनमा लिग चरणका खेलमा उसको यस्तै दबदबा देखिएको थियो।

उसले लिग चरणका सात खेलमध्ये ६ वटामा जित निकालेको थियो। यस्तै पहिलो क्वालिफायरमा पनि एकतर्फी जित निकालेको थियो। 

यस्तो थियो पहिलो सिजनको यात्रा 

सुदूरपश्चिम रोयल्सले पहिलो सिजनमा आफ्नो पहिलो खेल विराटनगर किंग्ससँग खेलेको थियो। जसमा पहिले ब्याटिङ गरेर उसले ७ विकेटको क्षतिमा १८२ रन जोडेको थियो।

त्यसलाई पछ्याएको विराटनगरको टोली १६ ओभरमै ९२ रनमा अलआउट भयो। यसरी पहिलो खेलमै सुदूरपश्चिमले ९० रनको शानदार जित निकालेको थियो।

यस्तै काठमाडौं गोर्खाजसँग भएको दोस्रो खेलमा पनि सुदूरपश्चिम रोयल्सले ७३ रनको एकतर्फी खेल बनाउँदै जित निकालेको थियो। सुदूरपश्चिम रोयल्सले बनाएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं ९४ रनमै समेटियो। 

तेस्रो खेलमा सुदूरपश्चिमले बनाएको १८७ रन पछ्याएको लुम्बिनी लायन्स पनि १४२ रनमै रोकिएपछि त्यहाँ पनि उसले ४५ रनको जित निकालेको थियो। 

चौथो खेलमा भने चितवन राइनोज सुदूरपश्चिममाथि भारी पर्‍यो। पहिले ब्याटिङ गरेको चितवनले बनाएको १६४ रन पछ्याउन नसकेको सुदूरपश्चिम ३३ रनले पराजित हुँदै नतिजा सुम्पिएको थियो।

सुदूरपश्चिम पाँचौँ खेलमा फेरि फर्कियो। १२३ रनको झिनो स्कोर बचाउँदै उसले जनकपुर बोल्ट्सलाई ५१ रनमा रोकेर ७२ रनको फराकिलो जित निकालेर सनसनी मच्चाएको थियो। 

छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ५ रनको झिनो जित निकाल्न सुदूरपश्चिम सफल भयो। सुदूरपश्चिमले पहिले ब्याटिङ गरेर ७ विकेट गुमाउँदै १५३ रन जोडेकामा पोखरा १४८ रनमा रोकिएको थियो।

लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम कर्णाली याक्ससँग भिडेको थियो। जहाँ पहिले ब्याटिङ गरेको कर्णालीलाई १०१ रनमा अलआउट गर्दै सुदूरपश्चिमले १६ औँ ओभरमा पुगेर ६ विकेटको जित निकालेको थियो।

त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिमको भेट जनकपुर बोल्ट्ससँग भएको थियो। पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सहजै ८ विकेटको जित निकाल्यो।

सुदूरपश्चिमसँग हारेको जनकपुर दोस्रो क्वालिफायरमा पुगेर कर्णाली याक्सलाई हराउँदै फाइनलमा पुग्यो। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फेरि फाइनलमा आमनेसामने भए। 

जहाँ सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो। तर सुदूरपश्चिमको जितमा जनकपुरका लहिरु मिलान्था बाधक बने। उनले ४९ बलमा ८७ रनको पारी खेल्दै जनकपुर बोल्ट्सलाई जित दिलाए। 

सुदूरपश्चिम त्यहाँ पाँच विकेटले स्तब्ध हुन पुग्यो।

 

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम रोयल्सको प्लेअफ पक्का, पहिलो क्वालिफायरकै मुख्य दाबेदार

 

प्रकाशित: १३ मंसिर २०८२ २१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App