२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

प्लेअफमा सुदूरपश्चिम र विराटनगरको बलियो दाबेदारी

स्पिनरमैत्री पिचमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले तेस्रो जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफको बलियो दाबेदारी दिएका छन्। 

कीर्तिपुरको त्रिवि क्रिकेट स्टेडियममा सोमबार दुवै खेलमा न्यून योगफल, स्पिनर मैत्री र ब्याटरको संघर्षजस्ता विशेषता बने। साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रन र विराटनगरले जनकपुर बोल्ट्समाथि ९ रनको जित निकाले। दुवै खेलमा कप्तान नै नायक बने। विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका  कप्तान दीपेन्द्रसिंह ऐरी प्लेअर अफ दी म्याच भए। एनपिएलको १० खेल समाप्तिमा तेस्रोपल्ट नेपाली खेलाडी जितका नायक बने। यसअघि विराटनगरकै लोकेश बम जितको निर्णायक थिए। टियुमा आज ब्याटरले निकै संघर्ष पनि गर्नुपर्‍यो। जसका कारण दुवै खेलमा सामान्य योगफल बने। 

तर, पहिले ब्याटिङ गर्ने दुवै टोली सामान्य लक्ष्य रक्षा गर्न सफल भए। विराटनगरले एक सय ३६ र सुदूरपश्चिमले एक सय ४० रनको सामान्य लक्ष्य रक्षा गर्‍यो। दुवै खेल स्पिनरमैत्री बने। उनीहरू पूर्ण हाबी रहे। पहिलो खेलमा डिफेन्ङिङ च्याम्पियन जनकपुरले १६ ओभरसम्म स्पिनर नै प्रयोग गर्‍यो। उनीहरू सफल पनि रहे। विराटनगरले पूरै ओभर खेले पनि एक सय ३६ रनको सामान्य लक्ष्य दियो। त्यो लक्ष्य पर्याप्त बन्यो। जबाफमा जनकपुरले पूरै ओभरमा ९ विकेट गुमाउँदै एक सय २६ रन मात्र बनाउन सक्यो। दोस्रो इनिङमा विराटनगरका कप्तान सन्दीपले पनि स्पिनरलाई नै धेरै बलिङ गर्ने अवसर दिए। उनले स्पिनरलाई १३ ओभर बलिङ गर्न लगाए। यो योजना सफल भयो र स्पिनर कुल ६ विकेट लिँदै किफायती पनि बने। सन्दीप आफैँले चार ओभरमा चार विकेट लिँदै ११ रन मात्र दिए। 

जितपछि सन्दीपले पिचले स्पिनरलाई मद्दत गरेको र त्यहीअनुरूप उनीहरूलाई नै अवसर दिएको प्रतिक्रिया दिए। ‘पहिले बलिङ गरेको भए २०ओभर नै स्पिनर लगाउन सक्थेँ। अनिल (जनकपुर कप्तान अनिल साह) ले पिच बुझेर राम्रो कप्तानी गरे। १६ ओभरसम्म स्पिनर लगाए। सायद मैले पनि त्यसै गर्थेँ होला,’ सन्दीपले भने। साथै कठिन पिचमा पनि आफ्ना खेलाडीले ब्याटिङमा राम्रो गरेको उनले उल्लेख गरे। सन्दीपको कप्तानीमा रहेको विराटनगर तेस्रो खेलसम्म अपराजित रहँदै प्लेअफको पनि बलियो दाबेदारी दिएको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर लगातार हारपछि दबाबमा परेको छ। मध्य क्रमका ब्याटर जान निकोल लोफ्टीले ४१ रन बनाए। यो नै जनकपुरका लागि सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो। डेथ ओभरको पहिलो बलमा उनी नवौँ विकेटका रूपमा आउट भए।

यो विकेट पतनसँगै विराटनगरले पूर्ण दबाब बनायो। ओपनरद्वय लाहिरु मिलन्था २३ रन र असिफ सेखले १४ रनमै आउट भए। कप्तान अनिल पनि ४ रनमै पभेलियन फर्किए। १३.४ ओभरमा जनकपुर ७७/५ को अवस्थामा पुग्यो। छैटौँ विकेटका लागि लफ्टी र रूपेशबिच ३४ रनको साझेदारी बन्यो। यो नै सबैभन्दा ठुलो सहकार्य बन्यो। तल्लो क्रमका ब्याटरले राम्रो साथ नदिँदा जनकपुरले हार बेहोर्‍यो। विराटनगरको बलिङमा स्पिनर सूर्य तामाङले दुई तथा मर्चान्ड डे लाङ्गे र शुभम रन्जानेले समान एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ३६ रनको सामान्य लक्ष्य दियो। विराटनगरका पनि कुनै ब्याटरले खुलेर खेल्न सकेनन्। 

मध्यक्रमका शुभम् रन्जानेले ३७ र बसिर अहमदले ३६ रनको योगदान दिए। यी दुईले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे। ३५ बल खेलेका बसिरको इनिङमा तीन चौका मात्र थियो। १८औँ ओभरमा विराटनगर १०७/४ को अवस्थामा थियो। किशोर महतोको १९औँ ओभर महत्त्वपूर्ण रह्यो। यस ओभरमा रन्जानेले दुई चौका र एक छक्कासहित १५ रन जोडे। २९ बलमा उनले समान दुई चौका र छक्का प्रहार गरे। जनकपुरको बलिङमा संगीत कोरे र रूपेशले समान दुई तथा आदित्य महताले एक विकेट लिए। 

अर्का कप्तान चम्किए
सुदूरपश्चिमले पनि सामान्य लक्ष्य रक्षा गर्दै तेस्रो जित निकाल्दा कप्तान दीपेन्द्रसिंह नै चम्किए। ब्याटिङसँगै स्पिन बलिङमा पनि योगदान दिएका कप्तान दीपेन्द्र म्यान अफ दी म्याच भए। उनले ३९ रन बनाई चार विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। दुवैमा उनको सर्वाधिक योगदान रह्यो। समान तेस्रो खेलमा कर्णालीले दोस्रो हार सामना गर्‍यो। सुदूरपश्चिमले एक सय ४० रनको मध्यम लक्ष्य दिएको थियो। खराब ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा ९४ रनमै अलआउट हुन पुग्यो। यो खेलको दुवै इनिङमा ब्याटरले निकै संघर्ष गर्नुपर्‍यो। सुदूरपश्चिमका दीपेन्द्रको ३९ रन र कर्णालीका २७ रन नै आआफ्ना टोलीका लागि सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो। दुवै टोलीको पावर प्ले खराब रह्यो। 

कर्णालीले पावर प्लेमा ३३ रन मात्र जोड्दा चार विकेट नै गुमायो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३९ रनको मध्यम योगफल खडा गर्‍यो। इनिङको पहिलो ओभरमा कर्णालीका कप्तान सोमपालले उत्कृष्ट बलिङ गरे। उनले मेडनसँगै विकेट निकाल्दै उत्कृष्ट सुरुआत दिलाए। पहिलो बलमै सोमपालले जोश ब्राउनलाई बोल्ड गरे। अर्का ओपनर विनोद भण्डारी पनि ११ रनमै आउट भए। युवा स्पिनर विपिन शर्माले उनलाई एलबिडब्लु सिकार बनाए। दबाबमा परेको सुदूरपश्चिमले पावर प्लेमा दुई विकेट गुमाउँदा २७ रन मात्र जोड्यो। ८.३ ओभरमा सुदूरपश्चिम ४६/४ मा थियो। छैटौँ विकेटका लागि भने महत्त्वपूर्ण साझेदारी बन्यो।

कप्तान दीपेन्द्रसिंह र हरमितले ४८ रनको साझेदारीसँगै सुदूरपश्चिमले इनिङ सय रन पार गराए। कर्णालीको बलिङमा सोमपालले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिए। नन्दनले दुई तथा मार्क वाट, विपिन र युवराजको नाममा समान एक विकेट रह्यो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका। उनले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिएर खेलेको उल्लेख गरे। लगातार तीन जितले प्लेअफमा पुग्ने धेरै मद्दत पुग्ने कप्तान दीपेन्द्रको विश्वास छ।

प्रकाशित: ९ मंसिर २०८२ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App