१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

म्याजेस्टिक लेक फ्रन्टसँग स्पोर्ट्स अवार्डको सहकार्य

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा पोखराको म्याजेस्टिक लेक फ्रन्ट अफिसियल होटल बनेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले यही पुस २३ गते आयोजना गर्न लागेको पल्सर स्पोटर्स अवार्ड पहिलोपल्ट उपत्यकाबाहिर हुँदै छ। एनएसजेएफले काठमाडौंबाहिर पहिलो पटक हुन लागेको अवार्ड कार्यक्रममा उपस्थित हुने खेलाडी, खेलकुद पदाधिकारी तथा अन्य अतिथिहरूको आवासको प्रबन्ध गर्न पोखरा लेकसाइडमा रहेको ‘म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स’ सँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष सुनिलबहादुर भट्टराईले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार अवार्डका दौरान अवार्डको मुख्य सचिवालय म्याजेस्टिक लेक फ्रन्ट होटलमा रहनेछ।

अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रबन्ध यही होटेलमा गरिनेछ। होटेलका अध्यक्ष भट्टराईले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमा आफ्नो होटल जोडिन पाउनु गर्वको विषय हो। यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो।’

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो। नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ।

खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदै आइएको छ। यस वर्ष पनि २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डोर्‍याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिनेछ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ। स्पोट्र्स अवार्ड प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्रस जर्नालिस्ट अवार्ड छन्।

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १६ पुस २०८२ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App