३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एएफसी महिला एसियन कप: देश युद्धमा, खेलाडी मैदानमा

देश युद्ध होमिरहँदा जाहरा घानबरी र इरानी टोलीले एएफसी महिला एसियन कपमा सोमबार देशको राष्ट्रिय गान बज्दा उभिएर सम्मान जनाए।

गत हप्ताको अन्त्यमा इजरायल र अमेरिकाले गरेको ठूलो आक्रमणबाट सुरु भएको युद्धबाट टाढा रहेर उनीहरू एसियन कपमा सहभागी भएका छन्। आइतबारदेखि सुरु एसियन कपमा इरानी महिला टोलीको खेल सबैका लागि प्रतीक्षित प्रतिस्पर्धा बनिरहेको थियो तर त्यो प्रतिस्पर्धा इरानी महिला टोलीको पक्षमा रहेन। आफ्नो पहिलो खेलमा इरान दक्षिण कोरियासँग ३–० ले पराजित हुन पुग्यो। यो खेलअघि इरानकी मुख्य प्रशिक्षक मरजियेह जाफरीले सैन्य आक्रमण र आफ्नो देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रिय गानका बेला खेलाडीका मुहारमा शोक झल्कन्थ्यो तर गोल्ड कोस्ट रंगशालामा रातो, सेतो र हरियो राष्ट्रिय रंगमा सजिएका समर्थकलाई खेलाडीहरूले केही मुस्कानसहित अभिवादन गरे।

त्यसपछि इरानले खेलमा नै ध्यान केन्द्रित राख्यो। दक्षिण कोरिया सन् २०२२ को महिला एसियन कपमा उपविजेता हो। त्यसैले पनि इरानका लागि पहिलो खेल सहज थिएन। कोरियाले पनि इरानमाथि ३–० को सहज जित निकाल्यो। गोलकिपर मरियम येक्ताईको कप्तानीमा रहेको इरानका लागि देशमा जस्तै प्रतियोगिताको पहिलो खेल पनि दुखदायी बन्यो। पहिलो हाफमा दक्षिण कोरियाले २० प्रहार गर्‍यो तर एक गोल मात्र निकाल्न सफल भयो।

३७औं मिनेटमा चोए यु रीको गोलमा १–० को अग्रता लिन सफल भयो। जाङ सेल गीको देब्रे खुट्टाको प्रहार पोस्टमा लागेर फर्किएपछि चोएले रिबाउन्डमा गोल गरिन्। ५९औं मिनेटमा किम हे रीले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाइन्।

दक्षिण कोरियाले ७५औं मिनेटमा तेस्रो गोल गर्‍यो। को यु जिनले सटिक हेडमार्फत गोल गरेकी हुन्। कप्तान घानबरी खेलको अन्त्यतिर ठोक्किँदा मैदान छाड्न बाध्य भइन्। खेलभर इरानले २१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो। इरानले तीनवटा मात्र प्रहार गर्दा दक्षिण कोरियाले ३२ पल्ट अवसर सिर्जना गर्‍यो। इरान रहेको समूह ‘ए’ मा आयोजक अस्ट्रेलिया, दक्षिण कोरिया र फिलिपिन्स छन्।

अब इरानले दोस्रो खेलमा बिहीबार क्विन्सल्यान्ड गोल्ड कोस्टमा नै अस्ट्रेलियाको सामना गर्नेछ। आइतबार पर्थमा भएको उद्घाटन खेलमा अस्ट्रेलियाले फिलिपिन्समाथि १–० को जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरिसकेको छ।

साम केरको गोल निर्णायक बनेको उक्त खेलमा कीर्तिमानी ४४,३७९ दर्शक उपस्थित थिए। त्यो जितपछि केरले इरानी टोलीको कठिन परिस्थितिप्रति सहानुभूति व्यक्त गरिन्।

‘उनीहरू युवा खेलाडी हुन्। हामी उनीहरूसँगको प्रतिस्पर्धालाई अन्य खेलसरह लिनेछौं। टोलीलाई उच्च सम्मान देखाउनेछौं र राम्रो तयारी गर्नेछौं,’ उनले भनेकी छन्।

दक्षिण कोरियाले साहसी तर स्तरमा कमजोर देखिएको इरानलाई पूर्ण रूपमा दबाबमा राख्यो। घरेलु युद्धका बावजुद इरानी खेलाडीहरूमा त्यसको प्रत्यक्ष प्रभाव देखिएन। जबकि केही समर्थकहरूले शाहकालीन झन्डा फहराएका थिए।

दोस्रो हाफमा विकल्प खेलाडीका रूपमा मैदान छिरेकी केस्सी फेयरले आफ्नो टोलीमा अझै सुधारको ठाउँ रहेको बताइन्। ‘हामीले निकै मिहिनेत र राम्रो प्रदर्शन गर्‍यौं  तर पनि थप गोल गर्न सक्थ्यौं। केही अवसर गुमायौं,’उनले भनिन्,‘प्रशिक्षणमा सुधार गर्न सक्छौं तर यो राम्रो सुरुआत हो।’

अब दक्षिण कोरियाले फिलिपिन्ससँग खेल्नेछ। तीन समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। सबै समूहबाट गरेर उत्कृष्ट दुई तेस्रो स्थानको टोलीले पनि क्वार्टरफाइनलको यात्रा तय गर्नेछ। यस एसियन कपबाट शीर्ष ६ स्थानमा रहने राष्ट्रले सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपका लागि छनोट हुने अवसर पाउनेछन्।  

प्रकाशित: १९ फाल्गुन २०८२ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App