अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा साउथ अफ्रिका ९८ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा भ्रमणकारी टोलीले १-० को अग्रता लिएको छ ।
साउथ अफ्रिकाले दिएको २९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १९८ रनमा अलआउट भयो । ६ जनाले दोहोरो अंक छुन नसकेको अस्ट्रेलियाको इनिङ्समा क्याप्टेन मिचेल मार्सले सर्वाधिक ८८ रन बनाए ।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा केशव महाराजले सर्वाधिक पाँच विकेट लिए । नान्द्री बर्गर र लुङ्गी नेग्दीले समान २ विकेट लिँदा प्रेनेलन सुब्रयनको नाममा एक विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९६ रन बनाएको थियो । उसका लागि एडन माक्रमले सर्वाधिक ८२ रन बनाए । क्याप्टेन टेम्बा बाभुमाले ६५ र म्याथ्यु ब्रिट्ज्कले ५७ रनको योगदान गरे ।
अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ४ र बेन ड्वार्सुसले २ विकेट झारे । शृंखलाको दोसो खेल शुक्रबार हुनेछ ।
प्रकाशित: ३ भाद्र २०८२ २०:१४ मंगलबार





