ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ५ थुकिमामा मंसिर १३ गते देखि दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदैछ ।
चासोक तङनाम(न्वागी खाने पर्व)को अवसर पारेर चासोक तङनाम मूल सञ्चालन समिति थुकिमाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराइएको हो । आयोजक समितिका अध्यक्ष बिशाल लिम्बूका अनुसार प्रतियोगिता मंसिर १८ गतेसम्म चल्ने बिजेताले १ लाख ५० हजार र उपबिजेताले १ लाख रुपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कोषाध्यक्ष शेरबहादुर जोगीका अनुसार प्रतियोगितामा ५ हजार ५५५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कोषमा रहेको बचत, स्थानीय सरकार, दाता र खेलप्रेमीहरुबाट संकलित रकमबाट प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको जोगीले सुनाए ।
प्रतियोगिताका रेफ्री संयोजक सुसन लङ्वा लिम्बूका अनुसार प्रतियोगितामा अहिलेको संरचना अनुसार कायम रहेका वडाका १५ वटा टिम सहभागी हुनेछन् ।
सहभागी टिममध्ये ३ वटा टिम आयोजकको हुने र बाँकी १२ वटा अन्य वडाबाट सहभागी हुन पाउने उनले बताए । वडाबाट सहभागी खेलाडी सम्वन्धित वडाकै हुनुपर्ने समेत आयोजकले जानकारी दिएको छ । रेफ्री संयोजक लिम्बूका अनुसार मंसिर १३ गते पहिलोदिन २ खेल हुँदा १४, १५ र १६ गते ३–३ वटा, १७ गते सेमी फाईनलका २ खेल हुन्छन् । अनि १८ गते फाईनल हुनेछ ।
सहभागी हुन मंसिर ११ गते अपरान्हसम्ममा नाम दर्ता गराईसक्नुपर्ने छ। सोहिदिन साँझ ५ बजे खेल तालिका सार्वजनिक हुनेछ ।
पर्यटन प्रवर्द्धन गर्न खेल
स्थानीय लोकेश लोङ्वा लिम्बूका अनुसार ऐतिहासिक र साँस्कृतिक हिसावले महत्वपूर्ण साङ्धुङ्गे क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
उनका अनुसार लिम्बू किम्वदन्ती अनुसार साङ्धुङ्गे भन्ने व्यक्ति मेरिङेदेनतर्फ आउने क्रममा १२ वटा लिम्बू थरी पुगेका छन् । थुकिमा क्षेत्रमा रहेका लिम्बू समुदायका बिभिन्न १२ थरगत समुदायले आफुहरुलााई साङ्धुङ्गेका सन्तानको रुपमा लिने गरेको उनले दावी गरे । लिम्बू समुदायको माङ्गेना यकमा भेला भएर पूजाआजा गर्ने स्थलको रुपमा समेत साङ्धुङ्गे क्षेत्र परिचित रहेको छ । लिम्बू संस्कार संस्कृतिका आधारित रहेपनि उक्त क्षेत्र सबै जातजाति,धर्म,संस्कार र संस्कृतिको एकताको प्रतिकको रुपमा र धार्मिक एवम् साँस्कृतिक हिसावले महत्वपूर्ण स्थल रहेको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपयुक्त देखिएकोले त्यसका लागि खेलकुदलाई माध्यम बनाईएको समेत उनले जानकारी दिए ।
प्रकाशित: ३ मंसिर २०८२ १६:५५ बुधबार





