१० भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

सेरेना-अल्काराजको मिक्स डबल्स यात्रा क्वार्टरफाइनलमै समाप्त

चार वर्षपछि यूएस ओपनको कोर्टमा फर्किएकी सेरेना विलियम्स र चार महिनापछि प्रतिस्पर्धात्मक टेनिसमा फर्किएका कार्लोस अल्काराजको मिक्स डबल्स यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ।

मंगलबार भएको क्वार्टरफाइनलमा बेलिन्डा बेन्चिच र फ्लाभियो कोबोलीको जोडीले सेरेना र अल्काराजलाई ५–४ (४), ४–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

सेरेना र अल्काराजले प्रतियोगिताको पहिलो खेलमा एरिन राउटलिफ र लोयड ग्लासपुलको जोडीलाई ५–३, ४–१ ले हराएका थिए। उक्त खेलमा आर्थर एस रंगशालामा उपस्थित दर्शकले दुवै खेलाडीलाई ठूलो समर्थन गरेका थिए।

४४ वर्षीया सेरेना सन् २०२२ पछि पहिलोपटक यूएस ओपनको कोर्टमा फर्किएकी हुन्। उनले सन् १९९८ मा म्याक्स मिर्नीसँग मिलेर यूएस ओपनको मिक्स डबल्स उपाधि जितेकी थिइन्। यसपटक भने उनी एकलतर्फ प्रतिस्पर्धा गरिरहेकी छैनन्।

यता २३ वर्षीय अल्काराज अप्रिल १४ पछि पहिलोपटक प्रतिस्पर्धात्मक टेनिसमा फर्किएका थिए। दाहिने नाडीको चोटका कारण उनले फ्रेन्च ओपन र विम्बल्डन गुमाएका थिए।

क्वार्टरफाइनलमा बेन्चिच र कोबोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्टार जोडीलाई रोक्न सफल भए। खेलअघि कोबोलीले सेरेनालाई ‘टेनिसकी रानी’ र अल्काराजलाई ‘वर्तमानका राजा’को संज्ञा दिएका थिए।

नयाँ ढाँचाअनुसार मिक्स डबल्सको पहिलो तीन चरणका खेल चार गेमको सेटमा खेलाइन्छ। ४–४ को अवस्थामा टाइब्रेकर र निर्णायक सेटको सट्टा १० अंकको टाइब्रेकर प्रयोग गरिन्छ। बुधबार हुने फाइनल भने परम्परागत ढाँचामा खेलाइनेछ। विजेता जोडीले १० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ।

प्रकाशित: १० भाद्र २०८३ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App