स्याङ्जाका चारवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।
एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्। ‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले र्याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने र हजरत मोहम्मदका उपदेश स्मरण गर्ने गर्छन्। यस्तै, सामूहिकरूपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताएका छन्।
स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघ संस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्। रासस
प्रकाशित: १० भाद्र २०८३ ०७:३९ बुधबार





