२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

संकटा र मच्छिन्द्रको तेस्रो जित

संकटा र मच्छिन्द्र क्लबले मंगलबार चौथो खेलमा सफलता निकाल्दै एन्फा यु–१६ युथ लिगमा तेस्रो जित प्राप्त गरेका छन्।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटाले विभागीय टोली एपिएफ क्लबलाई ६–१ र मच्छिन्द्रले श्री भगवती क्लबलाई ६–० ले हराउँदै जारी लिगमा तेस्रो जित निकालेका हुन्। अपराजित मच्छिन्द्रसँगै संकटाले तेस्रो जित निकाल्दै शीर्षताको दाबेदारी दिएको छ। संकटा सुरुआतमा एक गोलले पछि थियो। तर, संकटाले ६ गोल फर्काउँदै उत्कृष्ट पुनरागमनसहित फराकिलो जित निकाल्यो। खेलको पहिलो हाफमा नै गोल हुन सकेन। तर, खेलका सातवटै गोल दोस्रो हाफमा भए। संकटाका लागि प्रजलकुमार लुम्रेले दुई गोल गरे। सुमित बलम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाको नाममा एक गोल रह्यो।

खेलको ४७औं मिनेटमा प्रशिष खनालको गोलबाट एपिएफले अग्रता लिएको थियो। तर, एपिएफले त्यो अग्रता गुमाउँदै उल्टै ६ गोल सामना गर्‍यो। ५२औं मिनेटमा सुमितले गोल गर्दै संकटालाई बराबरीमा ल्याए। ६२औं मिनेटमा भने संकटाले अग्रता लियो। संकटाका लागि प्रजलकुमारले गोल गरे।

पेम्बाले ७५औं मिनेटमा गोल गरेपछि संकटाले अग्रता बढायो। खेल सकिन लागेपछि संकटाले तीन गोल थप्यो। आयुषले ८७औं मिनेटमा र प्रजलकुमारले ९०औं मिनेटमा गोल लगातार गोल गरे। इन्जुरी समयमा नवराजले गोल थपेपछि संकटाले एपिएफमाथि ६–१ को उत्कृष्ट जित निकाल्यो।

जितसँगै संकटा चार खेलबाट ९ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। एपिएफ तेस्रो हारसँगै १२औं स्थानमा झरेको छ। यससँगै चौथो चरणको खेल सकिएको छ। विभागीय टोली नेपाल पुलिस क्लब १२ अंकसहित साथ शीर्ष स्थानमा छ।

मंगलबार नै विकास थापाको ह्याट्रिक प्रेरणामा मच्छिन्द्रले श्री भगवतीमाथि फराकिलो जित निकालेको हो। राहुलकुमार योञ्जनले दुई र करण धामीले एक गोल थपे। मच्छिन्द्रले दुवै हाफमा समान तीन गोल गर्‍यो। राहुलकुमारले खेलको २०औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए। विकासले २५औं मिनेटमा संकटाका लागि दोस्रो गोल गरे।

पहिलो हाफको थप समयमा राहुलकुमारले व्यक्तिगत दोस्रो गोल थपे। त्यसपछि दोस्रो हाफमा लामो समयसम्म श्री भगवतीले मच्छिन्द्रको आक्रमणलाई रोक्ने प्रयास गर्‍यो। तर, अन्तिम १० मिनेटमा मच्छिन्द्रले फेरि तीन गोल थप्यो। ८०औं मिनेटमा विकासले गोल गर्दै मच्छिन्द्रलाई ४–० ले अगाडि बढाए। करणले ९०औं मिनेट गोल थपे। इन्जुरी समयमा विकासले गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै मच्छिन्द्रले ६–० को फराकिलो जित निकाल्यो। यो जितसँगै मच्छिन्द्र १० अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अहिलेसम्म एक खेल पनि नजितेको सातदोबाटो युवा क्लब पुछारमा छ।

मंगलबार नै भएको तेस्रो खेलमा अन्तिम समय समालिन नसक्दा एनआरटीले जावलाखेलसँग १–१ को बराबरी सामना गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। तर, दोस्रो हाफमा एनआरटीले सुरुआती अग्रता लियो। सुगम रानाको गोलबाट एनआरटीले अग्रता लिएको हो। खेल सकिन लाग्दा एनआरटी जिततर्फ उन्मुख थियो। तर, जावलाखेलका विविधराज राईले इन्जुरी समयमा गोल फर्काउँदै आफ्नो टोलीलाई हारबाट जोगाए।  

प्रकाशित: ३२ असार २०८२ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App