२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

पोखरामा भदौ १७ देखि दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता

पोखरामा भदौ तेस्रो सातादेखि नेपाल खुला स्नुकर प्रतियोगिता हुने भएको छ। 

फाइनल स्कोर स्पोर्ट्स बार प्रालिको आयोजना तथा कास्की जिल्ला बिलियर्ड स्नुकर तथा पुल सङ्घको विशेष सहयोगमा पोखरामा आगामी भदौ १७ गतेदेखि २८ गतेसम्म दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता–२०८२ हुन लागेको हो। प्रतियोगिता पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्ट्स बारमा सञ्चालन हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

प्रतियोगितामा देशभरका १२८ जना खेलाडीले सहभागिता जनाउने आयोजकको विश्वास छ। प्रतियोगितामा नेपालका टप–१६ को र्याङ्किङमा पर्ने सबै खेलाडीले सहभागिता जनाउने आयोजक फाइनल स्कोर स्पोर्ट्स बार प्रालिका अध्यक्ष सोम विकले बताए। कास्कीका त सहभागी भइहाल्छन्, उनले भने, ‘कास्कीबाहेक काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, बुटवल, पूर्व झापाको बिर्तामोड, धरान, इटहरी, विराटनगरलगायतका ठाउँहरूबाट पनि आउँछन्।’  

पोखरा क्षेत्रको स्नुकर खेलको स्तर वृद्धि गर्दै पर्यटनको विकासमा सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विकले बताए। स्नुकर खेलको विकास, विस्तारसँगै खेलको स्तर वृद्धि गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो, उनले भने, ‘साथै पोखरालाई पर्यटन सहरको रूपमा विकास गर्ने, स्नुकर खेलको माध्यमबाट शान्ति सुरक्षा कायम गर्ने, खेलाडीमा सामूहिक भावनाको विकास गराउन पनि भूमिका यसले खेल्नेछ।’ प्रतियोगिताले शान्ति सुरक्षा कायम गर्न पनि सघाउने उनले बताए।  

कास्की जिल्ला बिलियर्ड स्नुकर तथा पुल सङ्घका अध्यक्ष सागरकुमार साइँ (दिलीप)ले खेलाडीमा खेल भावना जागृत गराउन प्रतियोगिताले सघाउने विश्वास व्यक्त गरे। स्नुकर खेललाई हेर्ने प्रहरी प्रशासन र समाजको दृष्टिकोण अहिले बदलिएकाले उनले बताए। स्नुकर खेल शान्त, मर्यादित र अनुशासित खेल भएको बताउँदै उनले भने, ‘स्नुकर खेललाई पहिले नराम्रो तरिकाले हेरिन्थ्यो, तर अहिले यस खेललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ। यसलाई बल्ल खेलको रूपमा हेर्न थालिएको छ।’ आफूहरूले स्नुकर खेल के हो? कसरी खेलिन्छ र यसले समाजमा कस्तो योगदान दिन्छ भनेर बुझाएपछि यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनको दाबी छ।  

प्रतियोगिताले बिलियर्ड स्नुकर खेल मानसिक, शारीरिक तन्दुरुस्तीसँगै सामाजिक विकासका लागि अपरिहार्य हो भन्ने स्थापित गर्न सघाउने सङ्घका महासचिव सविन जिसीले बताए।  

प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २ हजार २ सय २  रुपैयाँ  र द्वितीय हुनेलाई नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिने जनाइएको छ। प्रतियोगितामा सेमिफाइनल पुगेका दुई जनालाई जनही २५ हजार तथा प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई २० हजार  रुपैयाँ  र सेन्चुरी ब्रेकरलाई हरेक खेलमा ७ हजार ५ सय  रुपैयाँ  प्रदान गरिने अध्यक्ष विकले बताए।  

प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक प्रताप गुरुङले जानकारी दिए।

प्रकाशित: १२ भाद्र २०८२ १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App