३० असार २०८३ मंगलबार
image/svg+xml
खेल

स्कटल्याण्डले अमेरिकालाई दियो ३२२ रनको विशाल लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत १०४ औं खेलमा स्कटल्यान्डले अमेरिकालाई जितका लागि ३२२ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित मैदानमा बिहीबार जारी खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको बलियो योगफल तयार पारेको हो।

स्कटल्यान्डका लागि तीन ब्याटरले सानदार अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याटर फिनले म्याकक्रेथले टोलीका लागि सर्वाधिक ७७ रनको योगदान दिए।

उनले १०२ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी, विकेटकिपर म्याथ्यु क्रसले विस्फोटक ब्याटिङ गर्दै मात्र ३२ बलमा ८ चौका र २ छक्काको मद्दतले ५८ रन जोडे।

अर्का ब्याटर ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले।

यस्तै, माइकल इंग्लिसले ३५ बलमा ३२ रन जोड्दा ओपनर जर्ज मुन्सेले २६ बलमा २० रन बनाए। टोलीका कप्तान रिची बेरिङटन भने २२ बल खेल्दै १० रनमै पेभेलियन फर्किएका थिए।

स्कटल्यान्डले आफ्नो पहिलो विकेट ३० रनमा, दोस्रो ११२ रनमा र तेस्रो विकेट १२५ रनको अवस्थामा गुमाएको थियो। इनिङ्सको अन्त्यतिर तल्लो क्रमका ब्याटरले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफललाई विशाल बनाए।

माइकल लिस्कले १२ बलमा अविजित २८ रन र मार्क वाटले १३ बलमा अविजित २५ रनको महत्वपूर्ण योगदान दिए।

लिस्कको इनिङ्समा ३ छक्का र १ चौका समावेश थियो भने वाटले २ चौका र १ छक्का प्रहार गरे। बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रावलकर र जसदीप सिंहले समान २-२ विकेट लिए।

नेत्रावलकरले ९ ओभरमा ४४ रन खर्चिए भने जसदीपले १० ओभरमा ७७ रन दिए। त्यस्तै, मिलिन्द कुमारले ६ ओभरमा ३७ रन र शुभम रन्जानेले ७ ओभरमा ५९ रन खर्चिंदै आफ्नो नाममा १-१ विकेट लेखाए।

हरमित सिंह र मोहम्मद मोहसिनले क्रमशः ५४ र ४२ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।

४७ ओभरमा घटाइएको यस प्रतिस्पर्धात्मक खेलमा ३२२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App