आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा स्कटल्याण्डले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पावर प्लेको ६ ओभर समाप्त हुँदा कुनै पनि विकेट नगुमाई ५२ रन जोडेको छ।
स्कटल्याण्डका ब्याटरद्वय जर्ज मुन्से र माइकल जोन्सले नेपाली बलरहरूमाथि दबाब बनाएका छन्। विशेषगरी माइकल जोन्स आक्रामक रूपमा प्रस्तुत भएका छन्।
उनले २० बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतले ३४ रन बनाएका छन्। अर्का प्रारम्भिक ब्याटर मुन्से १६ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाएर क्रिजमा छन्।
टस जितेर बलिङ रोजेको नेपालका लागि सुरुवाती ६ ओभरमा विकेटको खडेरी परेको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा २३ रन खर्चिएका छन् भने अनुभवी बलर सोमपाल कामीले २ ओभरमा १७ रन दिएका छन्। पहिलो पटक विश्वकपको मञ्चमा ओभर फाल्ने अवसर पाएका नन्दन यादवले आफ्नो पहिलो ओभरमा १० रन खर्चिएका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ १९:४४ मंगलबार





