१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन्।

कप्तान इक्वापुटले खेलको २२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन्। नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन्।

त्यसपछि खेलको ३५ औं मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो। उसका लागि शिल्कीदेवी हनामले गोल गरिन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन्।

त्यसपछि खेलको दोस्रो हाफको सुरुवाती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो। इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्।

त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत: इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको उपाधि जित्यो।

गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो। फाइनल खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए।

प्रकाशित: ५ पुस २०८२ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App