३ असार २०८३ बुधबार
image/svg+xml
खेल

इतिहास बनाउने दाैडमा राेनाल्डाे

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिएका क्रिस्टियानो रोनाल्डो फेरि एकपटक फिफा विश्वकपको मञ्चमा उत्रिँदै छन्। ४१ वर्षे रोनाल्डो र पोर्चुगलले रिपब्लिकन कंगोविरुद्ध खेल्दै उत्तरी अमेरिकाको विश्वकप सुरु गर्दैछन्। समूह ‘के’ को यो खेल टेक्सासस्थित ह्युस्टन स्टेडियममा बुधबार राती १०ः४५ बजे हुनेछ।

यो खेल पोर्चुगलको सुरुआत मात्र होइन कंगोका लागि ५२ वर्ष लामो प्रतीक्षाको क्षण पनि हो। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा अफ्रिकी राष्ट्र कंगोले आभा शताब्दीपछि पुनरागमन गरेको छ। कंगोको पुनरागमन कस्तो होला, महान् फुटबलर रोनाल्डोले खेल्छन् या खेल्दैनन् ? विश्वकपको दाबेदार मध्ये एकको पहिलो खेलको नतिजा कस्तो रहला भन्ने चासो फुटबल समर्थकमा देखिएको छ। पछिल्लो दुई दशकमा युरोपका सबैभन्दा स्थिर टोलीमध्ये एक पोर्चुगल पनि हो। सन् २००२ यता हरेक विश्वकप खेलेको पोर्चुगलले पछिल्ला पाँचमध्ये चार संस्करणमा नकआउट चरणसम्मको यात्रा तय गरेको छ। प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा पोर्चुगलले छनोट चरणमा प्रभावशाली प्रदर्शनसहित विश्वकप खेल्दै छ।

उसले आयरल्यान्ड, हंगेरी र आर्मेनिया रहेको समूहमा शीर्ष स्थान बनाएको थियो।  यस क्रममा टोलीले मात्र ६ खेलमा २० गोल ग¥यो। पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो अहिले पनि इतिहास बनाउने दौडमा छन्। पाँच फरक विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी रहेका उनी अब छैटौं विश्वकप खेल्ने पहिलो फुटबलर बन्ने लक्ष्यमा छन्। यद्यपि अर्जेन्टिनाका लियोनल मेसीले एक दिनअघि नै यो आँकडा पूरा गर्न सक्छन्। त्यो कीर्तिमानमा उनी पछि पर्न सक्ने सम्भावना छ। तर रोनाल्डोको महŒव कीर्तिमानमा सीमित छैन। विश्वकपमा पोर्चुगलले पछिल्ला ११ खेलमध्ये १० मा गोल गरेको छ। त्यसको अग्रपंक्तिमा अधिकांश समय रोनाल्डो नै थिए।  

सन् २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदा मात्रै पोर्चुगल गोलविहीन रह्यो। मार्टिनेजको विश्वकप रेकर्ड पनि राम्रो छ। बेल्जियम र पोर्चुगल गरी उनले विश्वकपमा प्रशिक्षकका रूपमा १० मध्ये सात खेल जितेका छन्। उनको जित प्रतिशत ७० छ। यद्यपि विश्वकप इतिहासले भने पोर्चुगललाई धेरै साथ दिएको छैन। टोलीको उत्कृष्ट नतिजा सन् १९६६ मा इङ्ल्यान्डमा सम्पन्न विश्वकपमा प्राप्त तेस्रो स्थान हो। त्यसयता सन् २००६ मा मात्र पोर्चुगल सेमिफाइनलसम्म पुगेको इतिहास छ। विश्वकपअघि अभ्यास खेलमा अमेरिका, चिली र नाइजेरियालाई हराएको पोर्चुगल आत्मविश्वासले भरिएको छ। नाइजेरियाविरुद्धको २–१ को जितमा गोल गरेका पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेसाओले रोनाल्डोलाई अग्रपंक्तिमा राम्रो साथ दिने अपेक्षा गरिएको छ।

आधा शताब्दी

पोर्चुगल विश्वकपको नियमित अनुहार हो भने कंगो यसको ठीक विपरीत कथा बोकेको टोली हो। सन् १९७४ पछि पहिलोपटक विश्वकप खेल्न लागेको टोलीले आधा शताब्दीभन्दा लामो प्रतीक्षा अन्त्य गरेको हो। त्यतिबेला ’जाइरे’ नामले विश्वकप खेलेको टोली अहिले डिआर (रिपब्लिक) कंगोको रूपमा मैदानमा उत्रिनेछ।

सन् १९९७ मा देशको नाम परिवर्तन भएपछि यो पहिलो विश्वकप सहभागिता हो। जमैकाविरुद्ध अन्तरमहादेशीय प्लेअफमा इन्जुरी समयमा गरेको निर्णायक गोलले कंगोलाई विश्वकपको टिकट दिलाएको थियो। त्यो गोल जित मात्र थिएन, पाँच दशक लामो प्रतीक्षाको अन्त्य पनि थियो। अफ्रिकी छनोटमा गाबोनभन्दा पछि परेको कंगोले क्यामरुन र नाइजेरिया जस्ता बलिया टोलीलाई पन्छाउँदै अन्तिम चरणसम्मको यात्रा तय गरेको हो।

सेड्रिक बाकाम्बु र योआने विस्सा टोलीका मुख्य हतियार हुन्। छनोट चरणमा बाकाम्बुले चार गोल र दुई असिस्ट तथा विस्साले तीन गोल र तीन असिस्ट गरेका थिए। अफ्रिकाबाट छनोट भएका कुनै पनि राष्ट्रमा दुई खेलाडीले यति धेरै गोल योगदान दिएका थिएनन्। यद्यपि कंगोको शैली निकै सावधानीपूर्ण देखिन्छ। टोलीका १३ छनोट खेलमध्ये १० खेल एक गोल वा त्यसभन्दा कम अन्तरमा टुंगिएका थिए। त्यसैले पोर्चुगलविरुद्ध पनि उनीहरू रक्षात्मक र संगठित रणनीतिका साथ उत्रिने सम्भावना छ।

इतिहास, अनुभव र सम्भावना

यी दुई टोलीबीच यसअघि कहिल्यै प्रतिस्पर्धात्मक वा मैत्रीपूर्ण खेल भएको छैन। त्यसैले ह्युस्टनमा हुने भेट उनीहरूको पहिलो आमनेसामने हुनेछ। विश्वकप इतिहासमा पोर्चुगलले अफ्रिकी टोलीसँग दुईपटक मात्र हार बेहोरेको छ र दुवैपटक मोरक्कोविरुद्ध। सहारा मरुभूमिको दक्षिणका अफ्रिकी राष्ट्रविरुद्ध भने पोर्चुगल अपराजित छ। फिफा वरीयतामा कंगो ५६औं स्थानबाट उक्लिएर ४५औं स्थानमा पुगेको छ। २५ हजार कम्प्युटर सिमुलेसनमा पोर्चुगलको जितको सम्भावना ५४.६ प्रतिशत देखिएको छ भने बराबरीको सम्भावना २२.३ प्रतिशत छ।

कंगोको जितको सम्भावना २३.१ प्रतिशत रहेको छ। तर विश्वकपको इतिहासले कागजमा बलियो देखिने टोली सधैं विजेता हुँदैन भन्ने बारम्बार प्रमाणित गरेको छ। रोनाल्डोको अन्तिम विश्वकप यात्राको सुरुआतमा ५२ वर्षपछि फर्किएको कंगोले नयाँ कथा लेख्न सक्ला ? पोर्चुगलले सुखद सुरुआत गर्दै रोनाल्डोको अन्तिम विश्वकपका रूपमा हेरिएको विश्वमञ्चमा दाबेदारी प्रस्तुत गर्न पनि सक्नेछ।  

प्रकाशित: ३ असार २०८३ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App