१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

‘सहिद इन्दिरा–राधा स्मृति फुटबल’ को उपाधि रतन्छालाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडामा आयोजित ‘सहिद इन्दिरा–राधा स्मृति प्रथम वाईसीएल कप’ फुटबल प्रतियोगिताको उपाधि साकेला गाउँपालिका–२, रतन्छाले जितेको छ।

सोमबार सम्पन्न फाइनल खेलमा रतन्छाले दिक्तेल रुपाकोट मझुवागढी–२, सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

वाईसीएल नेपाल, दोर्पाचिउरीडाँडाले तिहारको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा जिल्लाका २६ टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगिताको विजेता रतन्छाले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सोल्माले २० हजार रुपैयाँमा चित्त बुझायो।

सेमिफाइनलमा पुगेका केपिलासगढी–३, बासपानी र साकेला–५, मात्तिमले समान १०/१० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा रतन्छाका बालकेशर राई सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा साकेलाका अल्बर्ट राई सर्वाधिक गोलकर्ता बने।

यस्तै, रतन्छाकै रितेश राई उत्कृष्ट गोलरक्षक र एञ्जल राई उत्कृष्ट प्रशिक्षक चुनिए। सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर र सनम राई उत्कृष्ट डिफेन्डर बने।

केपिलासगढीको बासपानीले अनुशासित टोलीको उपाधि जित्यो। विधागततर्फ उत्कृष्ट हुनेलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

१० वर्षे माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट मारिएका सहिदहरू इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’ को स्मृतिमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

वाईसीएल केन्द्रीय सदस्य किसान राईका अनुसार सहिदको स्मृतिमा खोटाङमा आयोजना गरिएको यो पहिलो फुटबल प्रतियोगिता हो।

प्रकाशित: ४ कार्तिक २०८२ २०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App