टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दशौँ संस्करणको ‘रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।
टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टी. खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) अवार्ड जिते।
त्यस्तै, एथलेटिक्सकी ८ सय मिटर धाविका नारायणीले मोनिका राना (आर्चरी) र मनिषा तामाङ (जुडो)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन्। अवार्ड विजेता नारायणी ८ सय मिटर दौडकी स्वर्णपदक विजेता तथा राष्ट्रिय कीर्तिमानधारी धाविका हुन्।
पिपुल्स च्वाइस अवार्ड भने राजन दर्लामीले जिते। नोमिनेसनमा परेका पाँच जनाबीच भएको प्रतिस्पर्धामा दर्लामीले फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै अवार्ड जितेका हुन्।
दर्शकको भोटका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो। खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो।
सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष), सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) तथा पिपुल्स च्वाइस विधामा अवार्ड प्राप्त गरेका प्रदीप र नारायणीले ट्रफीसहित एक–एक थान स्कुटर प्राप्त गरे।
त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड निभा राई (ब्याडमिन्टन) ले जितिन्। उनले अनुस्का अधिकारी (एथलेटिक्स) र सचिन सुनार (तेक्वान्दो)लाई पछि पार्दै आफूलाई अब्बल सावित गरिन्।
सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा सिद्धान्त अधिकारी (एथलेटिक्स) ले अवार्ड जिते। उनले रेखमाया गुरुङ (तेक्वान्दो) र टेनिसका कुमार अधिकारीलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारे।
सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला क्रिकेट संघले जित्यो। मैदान सुधारदेखि निरन्तर प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको क्रिकेट संघले उक्त अवार्ड जितेको हो।
सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था/क्लबतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५/३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
बराललाई पत्रकारिता अवार्ड
मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दीननाथ बराललाई प्रदान गरेको छ। वर्षभरि खेलसम्बन्धी गरेको रिपोर्टिङका आधारमा बरालले अवार्ड जितेका हुन्।
विगत दुई दशकअघिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्वअध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन्।
पोखरा–२२, पुम्दीभुम्दीका स्थायी बासिन्दा उनले खेलकुद बिटलाई मुख्य आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनी दर्जनौँ संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन्।
ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अर्पण गरेको छ।
वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथलेटिक्समार्फत नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएको भन्दै मञ्च गण्डकीले उनलाई उक्त अवार्ड प्रदान गरेको हो।
गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए। २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्र्याकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा स्वर्णपदक जितेर आफूलाई अब्बल सावित गरे।
बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो। विश्वका हस्ती धावकहरूसँगै ओलम्पिक ट्र्याकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए।
उनले सन् १९९४ मा भएको १२औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए। दक्षिण एसियाली खेलकुद (साग) मा चौथोदेखि सातौँ संस्करणसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा कांस्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुमेका थिए।
बोगटी ‘गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित भइसकेका छन्। उनी हाल नयाँ पुस्तालाई एथलेटिक्सको ज्ञान र अनुशासन सिकाउँदै कृषि पेसामा आबद्ध छन्।
दृष्टिविहीन क्रिकेट खेलाडी सुष्मा तामाङलाई स्पेसल अवार्ड
मञ्चले यस वर्ष दृष्टिविहीन क्रिकेट खेलाडी सुष्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरेको छ। उनलाई नगद ३५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको हो।
आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कडा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाएकी उनलाई स्पेसल अवार्ड अर्पण गरिएको मञ्चले जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०८३ २०:४३ बिहीबार





