आफ्नै मैदानमा १० खेलाडीमा सीमित प्रतिद्वन्द्वीसँग पनि जित निकाल्न असफल म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकमाथि प्रश्न उठ्न थालेका छन्।
पछिल्ला १० महिनाभित्र तेस्रोपल्ट युनाइटेडले पहिलो हाफमै एक खेलाडी गुमाएको टोलीसँग हार बेहोरेको छ। आइतबार राति यस्तै नतिजा युनाइटेडले म्यानचेस्टर डर्बीमा सामना गर्यो। सिटीसँग घरेलु मैदानमा १-० को हारपछि युनाइटेडको प्रदर्शन, रणनीति, खेलाडी छनोटदेखि प्रशिक्षक क्यारिकको निर्णय क्षमतासम्म बहस सुरु भएको छ। उक्त खेलमा एर्लिङ हालान्डको एक मात्र गोल निर्णायक रह्यो। जुन गोलसँग जोडिएको निर्णयलाई लिएर प्रो रेफले युनाइटेडसँग औपचारिक रूपमा माफी मागेको घटनाले पनि चर्चा पाइरहेको छ। त्यसलाई ‘निर्णयमा भएको त्रुटि’ भनेको छ। तर, हारको जिम्मेवारी रेफ्रीको निर्णयमा मात्र सीमित नरहने देखिएको छ।
गत साता एभर्टनसँग खेलपछि तीन खेलबाट चार अंकलाई खराब मान्न नहुने क्यारिकले बताएका थिए। तर, यो हारपछि चार खेलबाट चार अंक मात्र जोडिनु अपेक्षाअनुसार नभएको उनले स्विकारे। नवप्रवेशी इप्सविचविरुद्ध घरेलु जितबाहेक युनाइटेडले सिजनको सुरुआती चार खेलमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। अब खेलाडी भित्र्याउने नीति, टोली छनोट, खेलाडी परिवर्तन, रणनीति र स्वयं क्यारिकको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्। ‘विश्राम वा फेरि सुरुआत आवश्यक छैन। अब अगाडि बढेर जित्न सुरु गर्नुपर्छ,’ क्यारिकले भने। युनाइटेडले सेप्टेम्बर १६ मा काराबाओ कपमा ब्राइटनको सामना गर्नेछ। त्यसको चार दिनपछि फुलहमको मैदानमा पुग्नेछ।
अन्तर्राष्ट्रिय विश्रामअघि यी दुई खेलमा सकारात्मक नतिजा नआए उनीमाथि दबाब अझ बढ्ने निश्चित छ। सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले पनि फिल फोडेनले रातो कार्ड पाएपछि खेल आफ्नो टोलीका लागि कठिन बनेको स्विकारे। तर, एक खेलाडी कम भए पनि सिटीले युनाइटेडलाई समस्या पर्ने आफूले अनुमान गरेको उनले बताए। युनाइटेडलाई ट्रान्जिसन र डिफेन्स पछाडिको खाली स्थान उपयोग गर्न सहज हुने शैली मन पर्छ। तर, एक खेलाडी कम भएपछि पछाडि बसेर युनाइटेडलाई त्यस्तो ठाउँ नदिँदा खेलको स्वरूप नै बदलिएको उनको भनाइ छ। युनाइटेड लामो समयदेखि काउन्टर अट्याकमा बढी प्रभावकारी देखिँदै आएको टोली हो। जोसे मोरिन्होदेखि यो शैली उसको बलियो पक्षमध्ये एक रहँदै आएको छ।
ओले गनर सोल्सजाएरले त्यसलाई परिवर्तन गर्ने प्रयास गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। एरिक टेन हाग र रुबेन अमोरिमको कार्यकालमा पनि यस्तै चुनौती देखिएको थियो। खेलाडीका रूपमा क्यारिक बल आफ्नो नियन्त्रणमा राख्थे। उनी अहिले आफ्ना खेलाडीबाट त्यही शैलीको अपेक्षा गर्छन्। तर बल नियन्त्रणमा राख्नु र विपक्षीले रक्षात्मक संरचना बनाएर ठाउँ नदिएको अवस्थामा त्यही बललाई प्रभावकारी रूपमा प्रयोग गर्दै अवसर सिर्जना गर्नु फरक कुरा हो। युनाइटेडको मुख्य समस्या यहीं देखिएको छ। खेलाडी भित्र्याउने रणनीति मुख्यत: मिडफिल्ड बलियो बनाउनेमा केन्द्रित थियो। तर १५ करोड ५० लाख पाउन्डे खर्चे पनि त्यसको प्रभाव मैदानमा अपेक्षाअनुसार देखिएको छैन।
युरी टिलेमान्सले लय समात्न सकेका छैनन्। कार्लोस बालेबाले युनाइटेडका लागि डेब्यु गर्न बाँकी छ। एन्ड्रे सान्तोस हलविरुद्धको पहिलो खेलपछि बेन्चमा झारिए। सिटीविरुद्ध मैदानमा समेत प्रवेश पाएनन्। डिफेन्सतर्पm प्रश्न उठेको छ। लुक शको लगातार ४१ खेलसम्म चलेको प्रिमियर लिग सुरुआती यात्रा सिटीविरुद्ध टुंगियो। तर उनको स्थानमा तत्काल प्रयोग गर्न मिल्ने नयाँ विकल्प युनाइटेडसँग देखिएन। कप्तान ब्रुनो फर्नान्डेसको प्रदर्शन पनि चर्चाको विषय बन्यो। गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उनले प्लेयर अफ द इयर र फुटबल राइटर्स प्लेयर अफ द इयर दुवै अवार्ड जितेका थिए। नौ गोल र प्रिमियर लिगमा कीर्तिमानी २२ असिस्ट उनको नाममा छ। यस सिजन भने उनको प्रभाव घटेको छ।
चार खेलमा तीन गोल गरेका फर्नान्डेसले एक मात्र असिस्ट गरेका छन्। सिर्जनात्मक भूमिकामा उनको प्रभाव अघिल्लो सिजनजस्तो देखिएको छैन। सिटीविरुद्ध फर्नान्डेस थकित देखिएको केहीको टिप्पणी थियो। त्यसले च्याम्पियन्स लिगमा अजरबैजानको साबाह एफसीविरुद्ध उनको प्रयोगबारे पनि प्रश्न उठाएको छ। युरोपको शीर्ष क्लब प्रतियोगितामा दुई वर्षपछि फर्किएको युनाइटेडले साबाहविरुद्ध जोखिम नलिन खोज्नु स्वाभाविक थियो। पहिलो हाफमै तीन गोलको अग्रताको अवस्था र सिटीविरुद्ध खेलका लागि तीन दिनको समय रहँदा समेत क्यारिकले कप्तानलाई ९० मिनेट मैदानमा राख्ने निर्णय गर्नु प्रश्नको घेरामा परेको छ। त्यसमाथि उनले पाँचै खेलाडी परिवर्तन गर्ने अवसर प्रयोग गरेका थिए।
क्यारिकलाई मेमा स्थायी रूपमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। रुबेन अमोरिम बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रूपमा उनले १७ खेलमा १२ जित दिलाएका थिए। त्यसपछि दुई वर्षको सम्झौतासहित उनले स्थायी जिम्मेवारी पाएका हुन्। अन्तरिम भूमिकामा प्रभावशाली प्रदर्शनपछि क्यारिकलाई पूर्णकालीन जिम्मेवारी दिनु उचित हुने धेरैको धारणा थियो। तर केहीले उनको नियुक्तिलाई सन् २०१९ मा अन्तरिम जिम्मेवारी सम्हालेर प्रभाव पार्दै स्थायी प्रशिक्षक बनेका सोल्सजाायरसँग तुलना गरेका थिए। सोल्सजायरको समग्र कीर्तिमान खराब थिएन। सर एलेक्स फर्गुसनपछिको युनाइटेड युगमा लगातार दुई सिजन टोलीलाई शीर्ष तीनमा पुर्याउने उनी अहिलेसम्मका एक मात्र प्रशिक्षक हुन्। तर उनी उच्चस्तरको प्रशिक्षक नभएको आलोचना उनको कार्यकालभरि चलिरह्यो।
क्यारिकले पनि अहिले त्यस्तै प्रश्नको सामना गरिरहेका छन्। यसको जबाफ उनले मैदानमा आफ्नो टोलीको प्रदर्शनमार्फत दिनुपर्नेछ। आफ्नो टोलीले खेलको अन्तिम समयसम्म राम्रोसँग खेल्नुपर्ने र आक्रमणमा थप सिर्जनात्मक हुनुपर्ने उनले स्विकारे। अहिले नै युनाइटेडमा ठूलो संकटको अवस्था आइसकेको छैन। तर सिजनको चार खेलले विगतलाई फेरि सतहमा उल्याएको छ। ती प्रश्नको उत्तर खोज्ने जिम्मेवारी क्यारिककै काँधमा छ।
प्रकाशित: ३० भाद्र २०८३ ०७:५१ मंगलबार





