नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको जनाएको हो। २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२औं संस्करण हो।
अहिलेसम्म उपत्यकाभित्र मात्र अवार्ड आयोजना हुँदै आएको थियो। तर, स्पोर्ट्स अवार्डलाई देशव्यापी पुर्याउने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए।
पोखरा भ्रमण वर्षको अवसरमा २२औं संस्करण हुने भएको छ। शुक्रबार नै पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च र अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकलसँग पाँच वर्षको सम्झौता नवीकरण भएको छ। यसका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका प्रबन्धक निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
४० लाखभन्दा माथिको सम्झौता भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। नगद प्रायोजनमा गत वर्षको भन्दा ३३ प्रतिशत वृद्धि गरिएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए। गोल्छा ग्रुपका प्रबन्धक निर्देशक अभिमन्युले मञ्च र गोल्छा ग्रुपबीचको यो सहकार्य नेपालमा लामो रहेको उल्लेख गर्दै एकआपसमा विश्वास, भरोसा र खेलकुदको माध्यमबाट देशलाई एकतामा बाध्ने उद्देश्यअनुरूप सम्झौताको १७औं वर्षमा पुगेको बताए।
देशका खेलाडीलाई सम्मान गर्ने अभियानमा निरन्तर सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप धेरै खुसी र उत्साहित रहेको उनी बताउँछन्। अवार्डका लागि मञ्च र गोल्छा ग्रुपबीचको सहकार्य भएको यो १७औं वर्ष हो।
नेपाली खेलकुदमा २०८१ सालभर उच्च प्रदर्शन गर्ने खेलाडका साथै प्रशिक्षक र खेलकर्मी मनोनयनमा पर्नेछन्। पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी कुल १० विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए। मञ्चको खेलाडी छनोट समितिले तयारी पनि सुरु गरिसकेको छ। पाँच विधाको मनोनयनमा समान पाँच जना रहने आयोजकले उल्लेख गरेको छ। तर, अन्य पाँच विधा लाइफटाइम, स्पेसल, पारा एथलिट, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्टलाई भने अवार्ड कार्यक्रमकै दिनमा घोषणा गरी सम्मान गरिने भएको छ। भोटिङ मार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गर्ने मञ्चका महासचिव खड्काले जानकारी दिए।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई एनएस २०० पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रूपैयाँसहित अवार्ड पाउनेछन्। पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ।
प्रकाशित: १० श्रावण २०८२ ०६:३३ शनिबार





