दक्षिण अफ्रिकाका २० वर्षीय लुआन-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान तोडेका छन्। उनले दक्षिण अफ्रिकामा जारी घरेलु प्रतियोगिता सीएसए टी-२० च्यालेन्जमा नटआउट १८८ रन बनाउँदै क्रिस गेलको कीर्तिमान भंग गरेका हुन्।
टाइटन्सबाट खेलेका प्रिटोरियसले नाइट्सविरुद्ध ७९ बलमा १३ छक्का र १५ चौकासहित अविजित १८८ रन बनाए। उनको उत्कृष्ट ब्याटिङमा टाइटन्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २६७ रन बनाएको थियो।
यसअघि पुरुष टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा थियो। गेलले सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै पुने वारियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए।
प्रिटोरियसले २४ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि थप १६ बल खेल्दै शतक पूरा गरेका उनले केवल ५८ बलमा १५० रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा २३७.९७ को स्ट्राइक रेट कायम गरे।
दक्षिण अफ्रिकाका लागि १७ टी-२०, तीन एकदिवसीय र दुई टेस्ट खेलिसकेका प्रिटोरियसले घरेलु प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गरेका हुन्।
२६८ रनको लक्ष्य पछ्याएको नाइट्सले भने राम्रो प्रदर्शन गर्न सकेन। टाइटन्सका बलरले नाइट्सलाई १४३ रनमै समेटेपछि टाइटन्सले १२४ रनको फराकिलो जित दर्ता गर्यो। उक्त खेल ब्लोमफोन्टेनस्थित माङ्गाउङ ओभलमा भएको थियो।
प्रकाशित: १७ आश्विन २०८३ ०७:३१ शनिबार


-600x400.jpg)


