१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

बाढीपहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग अवरुद्ध

क्याप्शन

बाढी तथा पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।

प्रहरीद्वारा जारी सूचना अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व) र हुम्लाका विभिन्न स्थानमा बाटो बन्द तथा आंशिक रूपमा प्रभावित भएको हो। प्राप्त पछिल्लो विवरण अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १०:३० बजेदेखि आएको बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्ड अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा अवरुद्ध बनेका छन्।

त्यस्तै, गण्डकी प्रदेशको मनाङमा असोज ८ गते दिउँसो १६:०० बजेदेखि बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण पूर्ण रूपमा बन्द रहेको छ। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका-२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा असोज १० गते बिहान ०५:५० बजे गएको पहिरोले वेनि-जोमसोम सडक खण्ड पूर्ण अवरुद्ध बनाएको छ।

यसैगरी, नवलपरासी (पूर्व) को बुलिङ्टार गाउँपालिका-६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेका कारण यातायात सेवा हाललाई एकतर्फी मात्र सुचारु गरिएको छ। तर बौदिकाली खण्डमा ठुला गाडीहरू सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुङ्गामा असोज १२ गते बिहान ०९:०० बजे गएको पहिरोका कारण सिमकोट-हिल्सा सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

विपद्का कारण अवरुद्ध भएका सडकहरू हटाउने कार्य जारी रहेकाले अत्यावश्यक बाहेकका यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र अघि बढ्न र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८३ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App