५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

तेस्रो विश्वविद्यालय खेलकुदको तयारी पूरा

आगामी बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी बिहीबारदेखि दुई दिनसम्म विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलमा हुँदै छ। विश्वविद्यालयबाट अध्ययनरत २९ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ।

उक्त प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको खेलमैदान हुनेछ। राखेपले मंगलबार पुतलीसडकमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजनामा हुने विश्वविद्यालय खेलकुद प्रतियोगितामा ९ वटा विश्वविद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। सहआयोजक नेपालय इन्टरनेसनलले उक्त पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजक केआइइस एजुकेसन कन्सल्टेन्सीसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ।

नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधान र केआइइस एजुकेसन कन्सल्टेन्सीका संस्थापक सिइओ राजेन्द्र रिजालबीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सो अवसरमा रिजालले देशले गौरव गर्ने क्षेत्र खेलकुदसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित रहेको र केआइइस एजुकेसन कन्सल्टेन्सी लामो समयदेखि नेपाली खेलकुद विकासमा जोडिँदै आएको बताए। नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधानले नेपाली खेलकुद विकासका लागि विश्वविद्यालय खेलकुदजस्ता प्रतियोगिता महŒवपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन्। यस संस्करणमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल र छात्र भलिबल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन्।

एथलेटिक्समा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र लङ जम्प गरी चार इभेन्ट्स हुनेछ। ब्याडमिन्टन र टेबल टेनिसमा सिंगल्स र डबल्स तथा बास्केटबलमा थ्री अन थ्री बास्केटबल हुने आयोजक राखेपले जनाएको छ। भलिबलको प्रतिस्पर्धा छात्रतर्पm मात्र हुने राखेपका प्रतियोगिता प्रमुख मीन शर्माले जानकारी दिए।

सबै विश्वविद्यालयमा छात्राको टिम नभएकाले छात्रको मात्र खेल राखिएको उनको भनाइ छ। हरेक विश्वविद्यालयबाट समान ३१ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। एउटा खेल विधामा एक जना प्रशिक्षक र एक म्यानेजर राख्न पाउने आयोजकले उल्लेख गरेको छ।

कुनै विश्वविद्यालयमा विदेशी नागरिक अध्ययन गरिरहेको छ भने पनि उनीहरूले प्रतिस्पर्धा गर्न पाउने भएका छन्। प्रतियोगितामा टिम र व्यक्तिगततर्पm स्वर्ण विजेताले समान तीन हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। ९ वटा विश्वविद्यालयबाट दुई सय ७० खेलाडीले कुल १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। सरकारले यस प्रतियोगिताका लागि १८ लाख विनियोजन गरेको अन्य रकम भने प्रायोजनबाट जुटाउने राखेपका प्रचारप्रसार शाखा प्रमुख खुसराज दाहालले जानकारी दिए। टिम च्याम्पियनले रनिङ सिल्डका साथै ट्रफी पनि प्राप्त गर्ने भएका छन्।    

प्रकाशित: २१ माघ २०८२ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App