बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो।
विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। “बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना सुरु गरेका हौं”, उनले भने, “तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडक पक्की बनाउन लागेका हौं।”
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुन थालेपछि पुलाचौरवासी उत्साही भएका छन्। धुलो र हिलोको समस्या हट्ने, यात्रा अवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीले बताएका छन्। सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो।
चालु आवका लागि एक करोड ७७ लाख ८८ हजार ४७२ रूपैयाँ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते एक करोड २२ लाख ५५ हजार २०० रूपैयाँमा ठेक्का सम्झौता गरेको छ।
निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्के लगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उनले बताए।
उपप्रमुख लामिछानेका अनुसार बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आवमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो। आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सबइन्जिनियर मिलन केसीले बताए।
पाँच सय दुई मिटर दूरीमा नाली र १७४।७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उनले बताए। बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नं वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ ०८:११ मंगलबार





