१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

इंग्ल्याण्डको क्रिकेट टोली नेपाल भ्रमणमा आउने तयारीमा

इङ्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्ने सम्भावना देखिएको छ।  

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय चक्रभित्र कुनै समय छोटो टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालमा आयोजना गर्ने सम्भावना अध्ययन गरिरहेको छ।  

हालका वर्षहरूमा नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ। गत वर्ष नेपालले यूएईमा वेस्ट इन्डिजलाई हराउँदै पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो। तर, अहिलेसम्म नेपालले कुनै टेस्ट खेल्ने राष्ट्रलाई पूर्ण अन्तर्राष्ट्रिय भ्रमणका लागि घरेलु मैदानमा स्वागत गरेको छैन।

यो अवस्था यसै वर्षको अन्त्यतिर बदलिन सक्छ। मार्चमा क्रिकेट आयरल्यान्डले क्रिकेट संघ नेपाल (क्यान) सँग पाँच वर्षे ‘रणनीतिक साझेदारी सम्झौता’ गरेको घोषणा गर्दै २०२६–२७ को जाडो सिजनमा नेपाल भ्रमण गरी सेतो बलको शृंखला खेल्ने योजना बनाएको थियो।

इङ्ल्यान्ड र नेपालबीच पहिलो भेट फेब्रुअरीमा सम्पन्न टी–२० विश्वकपमा भएको थियो। मुम्बईको वानखेडे स्टेडियममा नेपाली समर्थकहरूले भरिएको वातावरणमा इङ्ल्यान्डले अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो।

त्यस खेलपछि क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भारतमै ईसीबीका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

ईसीबीले पछिल्ला महिनाहरूमा अन्य क्रिकेट बोर्डहरूसँग मिलेर २०२७–३१ को ‘फ्युचर टुर्स प्रोग्राम’ (एफटीपी) को तालिका तयार गरिरहेको छ।  

यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नयाँ विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ढाँचा टुंगो नलागेकाले केही विषय अझै अनिश्चित छन्। विशेषगरी टेस्ट शृंखलामा कम्तीमा दुई खेल हुनुपर्ने नियम हट्ने वा नहट्नेबारे निर्णय बाँकी छ।

तर, ईसीबीले सो अवधिमा नेपाल भ्रमण गर्ने सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको छ। सम्भावित रूपमा यो भ्रमण अर्को कुनै सेतो बलको शृंखलाअघि — जस्तै भारत भ्रमणअघि — तालिकामा राख्न सकिनेछ। पुरुष टोलीको व्यस्त अन्तर्राष्ट्रिय तालिकामा थप खेल थप्न ईसीबी सतर्क भए पनि दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाले अर्को शृंखलाको तयारीसमेत हुने र यात्रामा केही दिन मात्र थपिने विश्वास गरिएको छ।

टी–२० विश्वकपका क्रममा नेपालका कप्तान रोहित पौडेलले अस्ट्रेलिया वा इङ्ल्यान्डजस्ता ठूला टोली नेपाल आउँदा ‘क्रिकेटलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने’ बताएका थिए। उनले भनेका थिए, ‘अस्ट्रेलिया वा इङ्ल्यान्ड नेपाल आयो भने त्यसको अर्थ धेरै ठूलो हुनेछ। यसले विश्व क्रिकेटलाई नेपालले पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ भन्ने देखाउनेछ। यो अत्यन्त महत्वपूर्ण कुरा हो।’

बेलायतको प्रमुख टेलिभिजन अधिकारधारी स्काइ स्पोर्ट्सले आइतबार ‘नेपालः क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको थियो, जसमा नेपालमा क्रिकेटप्रतिको मोहलाई प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा पारस खड्काले ठूला राष्ट्रहरूलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै नेपाली क्रिकेटलाई ‘एक्सपोजर’ आवश्यक रहेको बताएका थिए।

खड्काले भने, ‘नेपाल क्रिकेटलाई अहिले सबैभन्दा आवश्यक कुरा भनेको एक्सपोजर हो। हामी एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएकाले टेस्ट खेल्ने टोलीहरूसँग खेल्न चाहन्छौं, किनकि राम्रो क्रिकेटर बन्ने एकमात्र उपाय भनेकै उत्कृष्ट क्रिकेटर र बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्नु हो। त्यसैले खेल सिकिन्छ।’

उनले थपे, ‘यसले नेपालका नयाँ पुस्ताका बालबालिकामा ठूलो उत्साह जगाउनेछ, किनकि अहिले क्रिकेट युवा नेपालीहरूको मनमा बसिसकेको छ। क्रिकेट अब केवल खेल मात्र होइन, यो देशलाई एकताबद्ध बनाउने सबैभन्दा ठूलो माध्यम बनेको छ।’

इङ्ल्यान्डको पुरुष टोलीले २०२७ को घरेलु सिजनमा प्रतिष्ठित एसेस शृंखलामा अस्ट्रेलियालाई आतिथ्य गर्नेछ। त्यसबाहेक पाकिस्तान (जुन) र न्युजिल्यान्ड (सेप्टेम्बर) पनि सेतो बलको शृंखलाका लागि इङ्ल्यान्ड भ्रमणमा जाने सम्भावना छ।  

पाकिस्तानको भ्रमणमा एउटा टेस्ट खेल पनि समावेश हुन सक्छ, जुन २०२७–२९ डब्लुटीसीको ढाँचाबारे आईसीसीको अन्तिम निर्णयमा निर्भर रहनेछ।

इङ्ल्यान्डको महिला टोलीले पनि सेप्टेम्बरमा बंगलादेश तथा अस्ट्रेलियाविरुद्ध एसेस शृंखला आयोजना गर्ने कार्यक्रम छ। यद्यपि, ती खेलहरूको तालिका श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको समयतालिकामा निर्भर रहनेछ।

प्रकाशित: २८ वैशाख २०८३ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App