२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

भारतमा नेपाली टोलीसँग जोडिइन् प्रीति

कम्बोडियामा व्यावसायिक लिग खेलिरहेकी मिडफिल्डर प्रीति राई भारतमा जारी साफ महिला च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीसँग जोडिएकी छिन् ।

गोवामा जारी च्याम्पियनसिपमा नेपालले बुधबार दुईपल्टको च्याम्पियन बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल समूह ‘ए’ को विजेता र बंगलादेश समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालको यो यात्रामा मिडफिल्डर प्रीतिसँगै स्टार स्ट्राइकर सावित्रा भण्डारी र सविता रानामगर थिएनन् । सावित्रा र सविता चोटका कारण मैदानबाहिर छन् भने प्रीति व्यावसायिक लिगका लागि कम्बोडियामा थिइन् । उनी कम्बोडियाको शीर्ष डिभिजन क्लब प्रेह खान रिच महिला फुटबल क्लबमा आबद्ध छिन् । उनी सोमबार मात्र भारतको गोवा पुगेकी छन् ।  

उनलाई नेपाली टोलीका म्यानेजर एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । साफ च्याम्पियनसिप फिफा विन्डोअघि नै सुरु हुँदा प्रीति नेपाली टोलीसँग जोडिन नपाएकी हुन् । फिफा विन्डो बुधबारबाट सुरु भएर आगामी जुन ९ तारिखसम्म छ । फिफा विन्डो सुरु भएसँगै उनी टिमसँग जोडिएको टिम म्यानेजर शाहले जानकारी गराए । उनका अनुसार बुधबार सेमिफाइनल खेलमा प्रीति उपलब्ध हुनेछिन् ।

यसअघि नै समूहको अन्तिम खेलमा आइतबार श्रीलंकाविरुद्ध २–० को जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले सेमिफाइनलमा प्रीति पनि आउने स्पट पारिसकेका थिए । तीन राष्ट्र रहेको समूहमा नेपालले पहिलो खेलमा भुटानलाई १–० हराएको थियो ।

प्रकाशित: १८ जेष्ठ २०८३ २०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App