धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सातौँ संस्करणको फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सुनसरी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरानले फाइनलको यात्रा सुरक्षित गरेको हो । प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० गोलले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
प्रतियोगितामा शनिबार (पुस १९ गते) प्रभात स्कुल र आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) बिच फाइनल प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई बुधबार ३–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
विहीबारको खेलको पहिलो हाफको ७ मिनेटमा प्रभात स्कुलका जर्सी नं. १९ का भुवन भण्डारीले पहिलो गोल गरे । यस्तै, जर्सी नं. १० का कप्तान नेम्साङ मगरले २० औं मिनेट र २९ औं मिनेटमा पेनाल्टी मार्फत १–१ गोल गर्दै ३–० को अग्रता लिएको प्रभात स्कुलले दोस्रो हाफको २२ औं मिनेटमा जर्सी नं. १० का भुवन भण्डारीले पुनः अर्को गोल थपे ।
खेलको म्यान अफ दि म्याच प्रभात स्कुलका नेम्साङ मगर भए । उनलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले नगद एक हजारप पाँच तथा मेडल प्रदान गरे । सो क्रममा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सहभागिताको प्रमाणपत्र प्रदान गरे ।
प्रकाशित: १७ पुस २०८२ १८:२२ बिहीबार





