नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्सले पावरप्लेमै खराब प्रदर्शन गरेको छ।
इनिङको पहिलो ६ ओभर सकिँदा कर्णालीले ४ महत्वपूर्ण विकेट गुमाएर मात्र ३३ रन जोड्न सकेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पावरप्लेमा जादुयी बलिङ गर्दै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारेका छन्। उनले ३ ओभर बलिङ गर्दै २१ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
दीपेन्द्रले ओपनर प्रियंक पञ्चाल (०), आक्रामक ब्याटिङ गरिरहेका मार्क वाट (१७) र नजिबुल्लाह जद्रान (१) लाई पेभेलियन फर्काए।
त्यस्तै, हेमन्त धामीले विलियम बोसिस्टोलाई आउट गरे।
१४० रनको लक्ष्य पछ्याउने क्रममा १२ रनमा पहिलो विकेट गुमाएको कर्णालीले २९ रन पुग्दा ४ विकेट गुमाइसकेको थियो। अहिले क्रिजमा पवन सर्राफ र कप्तान सोमपाल कामी रहेका छन्।
जितका लागि कर्णालीलाई अझै ८४ बलमा १०७ रन आवश्यक छ भने हातमा ६ विकेट बाँकी छ। सुदूरपश्चिमले बलिङ र फिल्डिङमार्फत कर्णालीमाथि पूर्ण दबाब बनाएको छ।
प्रकाशित: ८ मंसिर २०८२ १८:४० सोमबार





