सबैभन्दा ठूलो चाड बडादशैंको रमझमका बीच सम्पूर्ण नेपाली नै अहिले खुसीको माहोलमा छन्। जेनजीको आन्दोलनपछि देशमा निम्तिएको अस्थिरतालगत्तै अन्तरिम सरकार बनेको छ।
आन्दोलनका क्रममा घुसपैठले सरकारी र नीजि भवनहरू आगजनीपछि संरचना ध्वस्त भएका छन्। धेरै मानवीय क्षति पनि देशले सामना गर्नुपर्यो। यस्तो अवस्थाको केही समयपछि नै देश अहिले चाड मनाउने तयारीमा छ। अधिकांश नेपालीहरू आफ्ना कर्मथलोबाट जन्मोथल फर्किदैछन्। बडादशैं केही भए पनि खुसी दिने माध्यम बन्नेछ। तथापि, यो खुसीको अवसरमा देशको झन्डा बोक्ने केही खेलाडीहरू भने मैदान हुनेछन्। अझ केही भने देश बाहिर नै रहनेछन्। उनीहरू मैदानमा नै दशैं मनाउने तयारीमा छन्।
शनिबार मात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई पल्टको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै इतिहास रचेको छ। पहिलोपल्ट आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग खेलेको नेपाली टोलीले जित नै निकाल्दै इतिहास रचेको छ।
तीन खेलको शृंखला सकिएलगत्तै नेपाली टोली ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमानमा एसिया छनोटको प्रतियोगिता खेल्नेछन्। यो टोलीसहित अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली, काभा यु–१९ महिला महिला भलिबल टोली र नेपाली यु–१७ महिला फुटबल टोली दशैंको रमझमका बीच मैदानमा प्रशिक्षण गरिरहेका छन्। नेपाली यु–१७ महिला टोलीले एएफसी यु–१७ महिला एसियन कप क्वालिफायरको तयारी गरिरहेको छ।
गत भदौ १६ गते भुटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो। यो च्याम्पियनसिपलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुटेको हो। आगामी अक्टोबर १३ देखि थाइल्यान्डमा छनोट सुरु हुँदै छ।
नेपालको समूह ‘एफ’ मा बलियो टोली थाइल्यान्ड र तुर्केमिनिस्तान छन्। समूहको शीर्ष टोली एसियन कपका लागि छनोट हुनेछ। तुलनात्मक रूपमा यी टोली नेपालभन्दा बलिया छन् तर, नेपाली महिला टोलीमा छनोट हुने आत्मविश्वास छ।
लामो समयदेखि मैदानमा तयारी गरेकाले सफलता पाउने टोलीको लक्ष्य छ। त्यसैले यो टोलीका खेलाडीले यसपल्ट मैदानमा नै दशैं मनाउँदैछन्। नेपाली यु–१७ टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ सकिएको दुई दिनपछि नै लगातार प्रशिक्षण गर्दै साफमा देखिएका कमजोरी सुधार गरिएको बताएका छन्। उनले डिफेन्स र मिडफिल्डमा काम गरिरहेको उल्लेख गरे।
साफमा ६ वटा खेलले खेलाडीमा अनभुवी पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ। सुरुदेखि फिटनेसमा सुधार गर्न काम गरेको र पावर ट्रेनिङ पनि गराएको प्रशिक्षक श्रेष्ठ बताउँछन्। यसले खेलाडीको प्रदर्शनमा सुधार आउने अपेक्षा छ। थाइल्यान्ड सबैभन्दा बलियो टोली रहेको र टिमवर्कमा राम्रो रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन्। तर, त्यसअनुरूप आफूले खेलाडीलाई तयारी गराएको उनले उल्लेख गरे। नेपालीहरूको महान् चाडमा पनि खेलाडीलाई तयारीमा जुट्न प्रोत्साहित गरेको उनी बताउँछन्। यसमा खेलाडीहरू पनि खुसी रहेको उनले बताए। राइट डिफेन्समा केही कमजोरी रहे पनि त्यसमा सुधार गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ।
विभागका सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै यो टोलीलाई म्याच एक्सपोजर पनि पर्याप्त दिने उनी बताउँछन्। साफको तुलनामा खेलाडीको प्रदर्शनमा धेरै सुधार भएकोमा उनी खुसी छन्। लगातार यी खेलाडीले प्रतियोगिता खेल्न पाएमा सिनियर राष्ट्रिय टोलीमा पनि स्थान लिनेमा उनी विश्वस्त देखिन्छन्। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि शनिबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेका छन्।
मिडफिल्डर भूमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो। गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो। कप्तान भूमिकाले प्रशिक्षकले दशैंमा मैदानमा नै मनाउने र देशलाई खुसी दिने लक्ष्यमा आफूहरू रहेको बताइन्।
टेक्निकल र फिजिकल पक्षमा काम भइरहेको उनको भनाइ छ। साफमा भएका गल्तीलाई सुधार गर्ने प्रयास भएको उनी बताउँछन्। थाइल्यान्डमा छनोट भएर फर्कने लक्ष्य रहेकाले सबैले त्यहीअनुरूप मिहिनत गरेको कप्तान भूमिकाले बताइन्। आफूहरूको मनोबल हामी जित्छौं भन्ने रहेको उनी बताउँछिन्। नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन्।
प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन्। गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ। आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन्।
पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए। त्यसपछि गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए। तर, भुटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन्। समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
सिंगल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ । नेपाली टोली देशको सबैभन्दा ठूलो चाढमा मैदानमा नै तयारी गर्दै यसपल्ट यो अवसर खेल जान नदिने लक्ष्यमा छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को योजनाअनुरूप नै खेलाडी पनि प्रशिक्षण नरोक्न तयार भएका हुन्। यससँगै उनीहरूको दशैं सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। शनिबार सार्वजनिक भएको यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन्।
डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक छन्। मिडफिल्डरमा रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट भए। फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए।
प्रकाशित: १३ आश्विन २०८२ ०७:३६ सोमबार





