९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित

नेपाली खेलकुदका विभिन्न खेलका खेलाडीको खेलजीवनमा आधारित ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ।

काठमाडौंम शुक्रबार एक कार्यक्रमका बीच उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका थिए। उक्त पुस्तक वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाले लेखेका हुन्। नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको दुई सय ६० पृष्ठको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संगृहीत छन्।

सो अवसरमा मन्त्री सिंहले खेलकुद राष्ट्रको समृद्धिमापन गर्ने महत्त्वपूर्ण कडी भएको उल्लेख गर्दै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोतसँगै दस्तावेजका रूपमा पनि रहने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रूपमा संग्रह हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरू धेरै पुस्तक लेखनका लागि प्रेरणा दिने बताए।उनले खेलाडीका संघर्ष र सफलताका कथाहरू लगातार लेखिनुपर्नेमा जोड दिए।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले खेलाडीले गरेको संघर्ष, भोगेका दुःख कष्ट र चुनौती तथा उनीहरूको साहसिक सफलताका कथाहरूलाई एउटा सिंगो पुस्तकका रूपमा सिंगारेकोमा थापालाई बधाई दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका दुःख, पीडा, संघर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रूपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण भएको बताए।

लेखक थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए।

पत्रकारिताको यात्रा थालेको पुनर्जागरण साप्ताहिकदेखि विभिन्न साप्ताहिक, मासिक, पाक्षिक र दैनिक पत्रिकामा लेखिएका सामग्रीलाई पुस्तकका रूपमा आकार दिएको उनको भनाइ छ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्द्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयवस्तुलाई समेटिएको उनी बताउँछन्। अन्नपूर्ण पोस्टमा कार्यरत थापा दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन्।

प्रकाशित: १७ श्रावण २०८२ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App