१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पेसएक्स स्पोर्ट्सले खेल तालिम प्रणाली स्थापना गर्ने

खेल तालिम तथा व्यवस्थापन कम्पनी पेसएक्स स्पोट्रसले दीर्घकालीन खेलाडी विकास र समग्र स्वास्थ्यमा केन्द्रित विश्वस्तरीय खेल तालिम प्रणाली स्थापना गर्ने भएको छ।

पेसएक्स स्पोटर्सले काठमाडौंको त्रिपुरेश्वरमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा आफ्नो सुरुआतको घोषणा गरेको छ। पेसएक्स स्पोट्र्सकी संस्थापक तथा अध्यक्ष संगीता कर्णका अनुसार विद्यालय, समुदाय र विभिन्न संस्थाका लागि दीर्घकालीन खेलाडी विकास र समग्र स्वास्थ्यमा केन्द्रित विश्वस्तरीय खेल तालिम प्रणाली स्थापना गर्नु कम्पनीको मुख्य लक्ष्य हो।

आगामी पाँच वर्षभित्र देशभरका कम्तीमा एक सय विद्यालय तथा संस्थामा वैज्ञानिक र व्यवस्थित पेसएक्स मोडेल कार्यान्वयन गर्ने संस्थाले जनाएको छ। संस्थाका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) सौरभ सिंहले दुई वर्षको योजनापछि ६ महिनाअघि नेपालमा कम्पनी स्थापना गरिएको जानकारी दिए।

उनले फुटबल, क्रिकेट र ईस्पोट्रससहित २१ वटा खेललाई लक्षित गर्दै व्यवस्थित तालिम अघि बढिरहेको बताए। ‘हामी लङ टर्म एथलिट डेभलपमेन्ट (एलटिएडी) मोडेल अपनाउँछौं। जुन अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सबैभन्दा प्रभावकारी ढाँचा हो,’ सिंहले भने,‘यसलाई प्रविधि, डाटा एनालिटिक्स र भविष्य केन्द्रित दृष्टिकोण भएका प्रमाणित विज्ञहरूले समर्थन गर्छन्। हाम्रो कार्यक्रम ६ देखि २२ वर्ष उमेरसमूहका खेलाडीका लागि तयार गरिएको छ।’

उनका अनुसार कम्पनीले काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका करिब एक सय ५० विद्यालयसँग आफ्ना उद्देश्य र योजनाबारे छलफल गरिसकेको छ।

पत्रकार सम्मेलनमा वितरण गरिएको एक प्रकाशनमा तेक्वान्दोका स्टार दीपक विष्ट, राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द र भारतका राष्ट्रिय बास्केटबल टोलीका पूर्वकप्तान विशेष बिघुवंशीलगायत विज्ञका रूपमा उल्लेख गरिएको छ।

देशकै पहिलो र एक मात्र एन्ड टु एन्ड खेल व्यवस्थापन कम्पनी भएको दाबी गर्दै पेसएक्स स्पोर्ट्सले संरचित र विस्तारयोग्य खेल तालिम प्रणाली निर्माण, अन्तर्राष्ट्रिय खेल पद्धतिको एकीकरण, स्वास्थ्य, फिटनेस तथा समग्र विकासको प्रवर्द्धन, विश्वस्तरीय खेल पूर्वाधार स्थापना तथा प्रशिक्षक, शिक्षक र खेल नेतृत्वको सशक्तीकरणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ।

सिंहले कम्पनीको आफ्नै खेल पूर्वाधार वा सुविधा नभएको स्पष्ट पारे। ‘प्रारम्भिक चरणमा हामी विज्ञ जनशक्ति उपलब्ध गराउनेछौं र विद्यालय वा सामुदायिक संस्थाका विद्यमान संरचना प्रयोग गर्नेछौँ,’ उनले भने।

प्रकाशित: १ माघ २०८२ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App