२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

मार्क्रमको विष्फोटक पारी, वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

आइसीसी टी-२० विश्वकप-२०२६ अन्तर्गत सुपर एटको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि ९ विकेटको शानदार जित हात पारेको छ।

बिहीबार अहमदाबादमा सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको १७७ रनको चुनौतीपूर्ण लक्ष्य दक्षिण अफ्रिकाले २३ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

दक्षिण अफ्रिकाको जितमा कप्तान एडेन मार्क्रमले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले मात्र ४६ बलको सामना गर्दै ७ चौका र ४ छक्काको मद्दतले अविजित ८२ रन बनाए।

त्यसैगरी, आक्रामक सुरुवात गरेका ओपनर क्विन्टन डी ककले २४ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोडे। डी कक आउट भएपछि क्रिजमा आएका रायन रिल्केटोनले पनि मार्क्रमलाई राम्रो साथ दिँदै २८ बलमा अविजित ४५ रनको योगदान दिए।

वेस्ट इन्डिजका बलरहरू दक्षिण अफ्रिकाका ब्याटर सामु निरिह देखिए। वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४ ओभरमा ४६ रन खर्चेर एकमात्र विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। वेस्ट इन्डिजको शीर्ष क्रम चल्न नसक्दा ८३ रनमै ७ विकेट गुमाएर संकटमा परेको थियो।

ओपनर ब्रान्डन किङले २१ रन र कप्तान शाई होपले १६ रन जोड्नु बाहेक अन्य शीर्ष क्रमका ब्याटर सस्तैमा पभेलियन फर्किएका थिए।

तर, तल्लो क्रममा आएका रोमारियो शेफर्ड र जेसन होल्डरले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

शेफर्डले ३७ बलमा ३ चौका र ४ छक्कासहित अविजित ५२ रनको अर्धशतकीय पारी खेले भने होल्डरले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४९ रन बनाए।

वेस्ट इन्डिजलाई सस्तोमै समेट्न दक्षिण अफ्रिकाका तिव्र गतिका बलर लुंगी एन्गिडीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। त्यस्तै, कागिसो रबाडा र कोर्बिन बोशले समान २-२ विकेट हात पारे। रबाडाले आफ्नो ४ ओभरको स्पेलमा मात्र २२ रन दिएका थिए।

अविजित ८२ रनको म्याच विनिङ कप्तानी पारी खेलेका दक्षिण अफ्रिकाका एडेन मार्क्रम खेलको प्लेयर अफ द म्याच घोषित भए। क्रिकइन्फोको इम्प्याक्ट लिस्टमा भने कागिसो रबाडा सर्वाधिक अंकका साथ एमभीपी रहे।

प्रकाशित: १४ फाल्गुन २०८२ १८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App